काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।
प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिनलाई तीव्रता दिनुपर्ने बताए ।

सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे । विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाई थियो ।
‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन ? डिजीले राजीनामा नदिए सरकारले अनुसन्धान चलिरहेको वेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन ? यस्ता विभिन्न घटना हुन्छन्‚ हामी सबैले संसदमा बोल्छौँ‚’ उनले भने, ‘यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् पछि हामी बिर्सिन्छौँ । एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’
सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको सो प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिने पनि बताए ।














