काठमाडौं । सहकारी पीडितहरूले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका छन् । तीन सहिनायता आन्दोलनरत पीडितहरूले सहकारीमा फसेको आफ्नो रकम फिर्ता ल्याउन कुनै काम नभएको भन्दै बिहीबार मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।
प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरुले रिले अनशन गरेका थिए । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरुको गुनासो छ ।

महासंघले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहकारी पीडितहरु मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।
उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा आबद्ध रहेर मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसले आन्दोलनमा समर्थन जनाउँदै आएका छन् । महासंघका अनुसार पीडितहरूले सहकारीबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ ।