
काठमाडौं । पोखराको एक होटलबाट करिब ५० लाख मूल्य बराबरको लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–९ न्यूरोडस्थित होटल दीप दर्शनमा अवैध रूपमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त लागुऔषधसहित होटल सञ्चालक ३७ वर्षीय इन्दुदेवी श्रेष्ठ र सोही होटलका म्यानेजर २५ वर्षीय मिलन पौडेललाई नियन्त्रणमा लिएको हो ।
होटलमा लुकाइछिपाई राखिएको आठ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले जानकारी दिए । जसको बजार मूल्य करिब ५० लाख बराबर रहेको र कास्कीमा यति ठुलो रकम बराबरको लागुऔषध एकै ठाउँमा बरामद भएको यो नै पहिलो घटना भएको उनको भनाइ छ ।
बरामद भएका लागुऔषधहरूमा तेह्र हजार छ सय ट्याब्लेट टापेन्टाडोल हाइड्रोक्लोराइड, एक हजार छ सय ट्याब्लेट टापेन्टाडोल (एपेन्डोल–५०), दुई हजार छ सय ट्याब्लेट टापेन्टाडोल (टिनाड–५०), चार हजार ट्याब्लेट टापेन्टाडोल (टिनाड–७५), टापेन्टाडोल हाइड्रोक्लोराइड एक्सटेन्डेन्ड ट्याब्लेट (टिपल–ई.आर.–१००), नौ हजार आठ सय ट्याब्लेट टापेन्टाडोल (टिनाड–१००), चार हजार ट्याब्लेट टापेन्टाडोल–७५ एम.जी र २१ हजार चार सय ट्याब्लेट टापेन्टाडोल–१०० एम.जी रहेका छन् ।
यसरी कुल ४३ हजार दुई सय ट्याब्लेट लागुऔषध र दुई थान मोबाइल फोन सहित श्रेष्ठ र पौडेल पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











