
काठमाडौं । चितवनको सिमलताल दुर्घटना सम्बन्धी अध्ययन कार्यदलले आज प्रतिवेदन बुझाउँदैछ । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको उक्त कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन गृहमन्त्री समक्ष बुझाउने तयारी गरेको हो ।
गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल नजिकैको सिँदुरे गहिरामा लेदोसहितको पहिरो बगाउँदा काठमाडौंबाट गौर गइरहेको र वीरगञ्जबाट काठमाडौं आइरहेको दुईवटा यात्रुबाहक बस त्रिशूलीमा बेपत्ता भएको थियो ।
उक्त बसमा ६५ जना यात्रु सवार रहेका अनुमान गरिएको छ । उक्त घटनामा तीन जना यात्रु हामफालेर बाँचेका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गर्दा समेत बस र यात्रु नभेटिएपछि भारतबाट गोताखोर मगाएर खोजतलास गरिएको थियो । यद्यपी अहिलेसम्म बसको अवस्था अज्ञात छ ।
घटना अध्ययन गर्न सरकारले गत असार ३१ गते सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले स्थलगत अवलोकन, घटनामा बाँचेकाहरूसँग प्रत्यक्ष कुराकानी, स्थानीयहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेको छ । यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो ।














