
काठमाडौं । धुलिखेलमा पहिरो जाँदा अरनीको राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका– ७ फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै अरनिको राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडकभन्दा माथिबाट पहिरो सहित खसेको रुखले बिजुलीको तारसमेत चुँडाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पहिरोको कारण सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन् । प्रहरी, नेपाली सेना र विद्युत् प्राधिकरणका कर्मचारीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।














