काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा शुक्रबार बसेको बैठकमा बिभिन्न चार एजेण्डामाथि छलफल सुरु भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, , वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डामाथि छलफल सुरु भएको उनले बताए ।
पहिलो एजेण्डाका रुपमा रहेको पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङमा अध्यक्ष प्रचण्डले टीआरसी विधेयक पारित भएको र आगामी संसद्को बैठकमा पेश हुने जानकारी गराएका थिए । बङ्गलादेश घटनाप्रति शिक्षा लिएर जनताको कुरा सुन्नु पर्नेमा पनि प्रचण्डको जोड रहेको सापकोटाले जानकारी दिए ।
त्यस्तै, अघिल्लो सरकारले गरेको सुशासन र भ्रष्टाचारविरोधी काम अगाडि बढाउनको सट्टा अहिलेको सरकारले त्यसलाई अवरोध सिर्जना गर्ने काम गरिरहेको प्रचण्डले बताएको सापकोटाको भनाइ छ ।
त्यस्तै स्थायी कमिटी बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका प्रति दुख व्यक्त गर्दै परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन माग गरेको छ भने बस दुर्घटना, बाढी पहिरोबाट भएको क्षति न्यूनिकरण गर्दै पीडितलाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको प्रवक्ता सापकोटाले बताए । माओवादी स्थायी कमिटी बैठक शनिबार ११ बजे बस्ने उनले जानकारी दिए ।














