
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेका ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो १ बजे नै बस्नेछ । बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।














