काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । मङ्गलबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद गौतमले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि माग गरे ।

उनले भने, ‘ईयूको कालोसूचीमा पर्नुदेखि अहिले भएका सबै घटनाले हाम्रो नियामक निकाय असफल भइसकेको पुष्टि भएको छ । अघिल्लो पटक नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक आएको थियो । तर अलपत्र भएको छ ।’
सांसद गौतमले प्रधानमन्त्रीलाई यो विधेयक ल्याउन माग गरे । जनताको मृत्यु भनेको सत्ताको खेलमा आहुति दिने कुरा नभएको भन्दै सांसद गौतमले हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गरे । उनले हवाई सेवा प्रदायक निकाय र नियामक निकायलाई अलग गराउने कार्य तत्काल होस् भनी माग गरे ।














