काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले बिजुलीको बक्यौता एक रुपैयाँ छोड्न नहुने बताए ।

‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले भने, ‘विधिको शासन भनेको त्यही हो ।’ त्यस्तै, उनले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए ।
उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए ।
उनले भने, ‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ । तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ ।’














