Logo
Logo

सभामुखको दम्भले संसदमा हंगामा


2k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनबापत उठाउनुपर्ने महसुलको विषयमा बोल्दै गर्दा सभामुखले बोल्न रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेको छ ।

मंगलबारको प्रतिनिधिसभाको आकस्मिक समयमा रास्वापा सांसद हरि ढकालले भ्रष्टाचार र अरू केही विषयमा बोलेपछि उद्योगीबाट उठाउनुपर्ने विद्युत् महसुलबारे कुरा राख्न सुरु गरेका थिए । 

तर सभामुख देवराज घिमिरेले भने ढकालले सार्वजनिक यातायातको विषयमा बोल्न समय लिएकाले अरू विषयमा बोल्नु असान्दर्भिक भएको भनेर माइक काटे । त्यसपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाएका छन् ।

बोल्न नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठकमा सभामुख घिमिरे र सांसदहरूबिच केहीबेर सवाल–जवाफ नै चल्यो । रास्वपालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले पनि साथ दिएका छन् ।

सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिएका थिए । लामिछानेले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउनेबित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए । 

लामिछानेपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनलाई समय दिए । उनले पनि सभामुखको कार्यशैलीको विरोध गर्दै भने– ‘हामीले आकस्मिकमा जुन समय प्राप्त गर्छौं, यो पटकबाट परम्परा बिगारिराखिएको छ,  प्रतिनिधिसभा सदस्यलाई तिमिले यो मात्रै बोल्न पाउँछौँ भन्ने व्यवस्था मान्य हुँदैन ।’

उनीहरूले बोलेपछि पनि सभामुख घिमिरेले ढकाललाई समय दिएनन् । ‘समय मैले दिने हो, मैले दिएपछि मात्रै बोल्ने हो’ भन्दै सभाखुले दम्भ देखाए । त्यसपछि केहीबेर सभामुख घिमिरे र प्रतिपक्षी दलबीच सवाल जवाफ भयो । 

विपक्षी दलहरूका सांसदहरूले निरन्तर अवरोध जारी राखेपछि अन्ततः सभामुख घिमिरेले ढकाललाई पुनः समय दिन बाध्य भए । त्यसपछि आफ्नो धारणा राख्दै ढकालले भने ‘काटिएको विद्युत् लाइन जोड्न प्रधानमन्त्रीले जसरी निर्देशन दिए, उसैगरी महसुल तिर्न पनि निर्देशन दिनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्