Logo
Logo

खाँदबारीका आठ घर पहिरोको उच्च जोखिममा


441
Shares

सङ्खुवासभा । सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन् । गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमितेका घरहरू जोखिममा परेका हुन्।

पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए । पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्ने बताए ।

कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ। एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पु¥याइएको छ । गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन् ।

गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी–४ की कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ ।

पहिरो अवलोकनपछि उपप्रमुख बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिए । गत वर्ष पहिरो केही रोकथाम गर्ने प्रयासस्वरूप खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा तारजाली लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्