Logo
Logo

प्रचण्डले बैठकमा हसिनालाई किन सम्झे ?


1.8k
Shares

पार्टीभित्र नेतृत्व छाड्न दबाब बढिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगालादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनालाई सम्झेका छन् । हसिनाले आफूलाई अमेरिकाले सत्ताच्यूत गरेको बताएपछि प्रचण्डले पनि आफूलाई अमेरिकीहरूको षडयन्त्रबाट हटाएको भन्दै ‘फेस सेभिङ’ गरेका छन् ।

पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि बढाउन पटकपटक दबाब दिएको र आफूले अस्वीकार गरेपछि आकस्मिक रुपमा प्रधानमन्त्रीबाट हटाइएको बताउँदै सरकारबाट हट्नु परेको पीडा बाहिर ल्याएका हुन् ।

‘बंगलदेशमा अमेरिकी सेनाको बेस राख्न नमान्दा केही दिनअघि शेख हसिनालाई विद्यार्थी आन्दोलनका नाममा सेनाको सहयोगमा हटाइयो, नेपालमा एसपिपी अस्वीकार गर्दा मलाई हटाइयो । एकै समयमा दक्षिण एसियामा अमेरिकी हस्तक्षेप ह्वात्तै बढेको देखिन्छ,’ उनले भनेका थिए ।

पछिल्लो समय रुस र युक्रेन युद्धमा भारतले रुसलाई सहयोग गरेपछि भारतसँग समेत अमेरिका चिढिएको तथा चीनसँग पहिले नै सम्बन्ध बिग्रिएको कारण अमेरिकाले पछिल्लो समय दक्षिण एसियामा हस्तक्षेप बढाउँदै लगेको प्रचण्डको दाबी थियो ।

प्रचण्डले आफूलाई शेख हसिनाको सत्तासँग दाँजेका छन् । आफू र बंगलादेशका प्रधानमन्त्री हसिनालाई एकै पटक अमेरिकी षड्यन्त्रमा हटाइएको दाबी गर्दै उनले सत्ताबाहिर बस्नुपरेको पीडा पोखेका छन् । प्रचण्डले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्रराय यादवको नेसपालगायतसँग पार्टी एकताका लागि आफूले निर्णायक पहल गरेको पनि बताएका थिए ।

सत्तामा हुँदासम्म संगठन बिर्सेको माओवादीले सत्ताबाहिर भएपछि संगठन सम्झेको छ । स्थायी समिति बैठकमा माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरूले संगठन निर्माणमा जोड दिने बताएका थिए । एक महिनाअघि मात्रै सरकारबाट बाहिरिएको माओवादीले यो अवधिमा पार्टीको धेरैवटा बैठक गरेको छ ।

प्रचण्डले मात्र होइन, माओवादी केन्द्र स्थायी समिति बैठकमा सरकारभन्दा संगठन निर्माणमा जोड दिनुपर्ने नेताहरूले बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा बोल्ने नेताले अब दीर्घकालीन रुपमा पार्टी कार्यक्रम बनाउनुपर्ने धारणा राखेका छन् ।

बैठकमा उपमहासचिव वर्षमान पुन, जनार्दश शर्मा, सचिव चक्रपाणि खनाल लगायतले अबको प्राथमिकता सरकार नभई पार्टी हुनुपर्ने बताएका थिए । उनीहरूले संविधान संशोधनको मुद्दामा प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएका छन् । त्यतिमात्र होइन उपमहासचिव पुुन र शर्माले प्रचण्डको नेतृत्व असफल भएको भन्दै पुनर्विचार गर्न दबाब दिएका छन् ।

३५ वर्ष एकै व्यक्तिले नेतृत्व गर्नुभयो अब त्यसो हुनुहुँदैन, अध्यक्षको कार्यकाल र अवधि तोकिनुपर्छ’, बैठकमा पुनले भनेका थिए । त्यसैगरी शर्माले पनि फरक मत प्रस्तुत गर्दै अनन्तकालसम्म नेतृत्वमा रहँदा प्रचण्ड र पार्टी दुवै अधोगतितर्फ उन्मुख भएको बताएका थिए ।

बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्ष दलको हैसियतले सदन र सडकमा मोर्चाबन्दी गरिने बताएका थिए । प्रचण्डले सरकारबाट बाहिर रहेकै बेला समाजवादी मोर्चा ब्युँताउनेदेखि बृहत् वाममोर्चा बनाउने वा पार्टी एकीकरण प्रस्तावलाई पनि मूर्त रुप दिने बताउन थालेका छन् । ‘प्रचण्डले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको भएको छ’, उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने ।

देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, संघर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा प्रचण्डले विफ्रिङ गरेका थिए । पटक पटक असफल भैसकेको बृहत् वामपन्थी एकताको प्रस्तावमा माओवादी, माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीबीच छलफल भए पनि अन्य पार्टीहरू भने यसमा सहभागी छैनन् ।

पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएपनि संगठन निर्माणमा कहिलेदेखि लाग्ने भन्ने बारेमा केही उल्लेख छैन ।

प्रतिक्रिया दिनुहोस्