काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य चयन प्रक्रियामा विवाद र थप सदस्य चयनमा बिलम्ब हुँदा पार्टी पातलिएर ‘मसाल’ जत्रो हुने खतरा बढिरहेको छ । तर, शीर्ष नेताले चयन भएका केन्द्रीय सदस्य नै उपयुक्त भएको वकालत गर्न छाडेका छैनन् ।
नेताका परिवारदेखि पिएसम्म, खर्च चलाइदिनेदेखि ‘खाजा पानी’मा रमाउनेहरु कसैलाई नछुटाई केन्द्रीय सदस्यको नाम टुंगो लगाइयो । त्यसो गरिँदा पार्टी, संगठन निर्माणका लागि विगतमा योगदान दिएका र फेरि पनि उक्त कार्यका निम्ति आवश्यक पर्ने थुप्रै नेता केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका छन् ।

सार्वजनिक गरिएका केन्द्रीय सदस्यको नाममा तीव्र विवाद हुँदा पनि पार्टीका नेताहरु त्यसलाई संशोधन गर्ने र स्वीकार्य बनाउने भनिरहेका छैनन् । बरु, वडा सदस्यको चुनाव जित्न नसक्नेलाई केन्द्रमा ल्याएर ठूलै क्रान्तिकारीका रुपमा चित्रित गरिँदैछ ।
०७९ सालका निर्वाचनमा पार्टीलाई मतदान गर्न जिल्ला नजाने १ सय २२ केन्द्रीय सदस्य फेरि पनि दोहोरिएका छन् । थपिएका केन्द्रीय सदस्य पनि काठमाडौैंमा नेताका वरिपरि घुम्नेमात्रै हुँदा पार्टी बनाउनका लागि नभएर एमालेमा फर्किन्छन् कि भनेर केन्द्रीय सदस्यको सूची तयार पारिएको आरोप नेतृत्वमाथि लागेको छ ।
सबैभन्दा बढी असन्तुष्टि काठमाडौं जिल्लामा पाइन्छ । केही दिनअघि काठमाडौं जिल्ला कमिटीको कार्यालयमा केन्द्रीय सदस्य नबनाइएका नेताहरुको भेलामा सयभन्दा बढीको उपस्थिति थियो । उक्त भेला आयोजना गर्नका निम्ति जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, सचिव धु्रवराज न्यौपाने, पूर्वअध्यक्ष तथा पूर्वकेन्द्रीय सदस्य कुसुमकुमार कार्की, पूर्वकेन्द्रीय सदस्य सीता श्रेष्ठहरुको सहयोग थियो । तर, उनीहरु भेलामा गएनन् ।
त्यसमध्ये कुसुमकुमार कार्की, ध्रुवराज न्यौपानेसहित क्षेत्र नं. ४ का मुख्यमुख्य नेताले आफूहरु पार्टीमा नरहेको घोषणा गरिसकेका छन् । कार्की ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका र ०७९ मा थोरै मतले पराजित व्यक्ति हुन् । न्यौपाने युवा र खेलकुद क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । जिल्ला अध्यक्ष एलपी श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य सीता श्रेष्ठसहितका अन्य नेताले पनि छिट्टै पार्टी परित्यागको घोषणा गर्ने भएका छन् ।
केन्द्रीय सदस्य चयनका क्रममा दलित फाँटमा व्यापक असन्तुष्टि छ । मधेसी दलितको सट्टामा पहाडे दलित र पहाडे दलित केन्द्रीय सदस्य हुनुपर्ने क्लष्टरमा गैरदलित केन्द्रीय सदस्य बनाइँदा असन्तुष्टि बढेको हो । उदयपुरका सरोजदिलु विश्वकर्मालाई केही नेताले ‘अहिले पनि केपी ओलीकै मान्छे हो’ भन्दै समावेश भएको नाम पनि काटियो ।
मुस्ताङमा पार्टी अध्यक्ष रहेका भीम रसाइलीको नाम काटेर अरु जिल्लाका गैरदलितलाई केन्द्रीय सदस्य बनाइयो । दलित समुदायबाट १६ जना केन्द्रीय सदस्य बनाइँदा रवीन्द्र बैठाबाहेक कोही पनि मधेसी दलित परेनन् ।
राष्ट्रियसभा उपाध्यक्ष भइसकेका दलित समुदायका लोकप्रिय नेता रामप्रित पासवाले पार्टी परित्याग गरे । त्यस्तै, रामअवतार पासवान, श्री पासवान र सुन्दर विकले महाधिवेशनभन्दा पहिल्यै पार्टी छाडेका थिए । उनीहरुको ठाउँमा पहाडे दलितलाई केन्द्रीय सदस्य बनाइयो ।
कोशी प्रदेशले कमल जवेगु र प्रेम रिजालको नाम स्वीकार नभई काठमाडौं बस्ने भक्तिमान सम्बाहाङफे केन्द्रीय सदस्य भए । यो कुराले पाँचथर सम्पर्क मञ्चका अध्यक्ष विक्रम भट्टराई, सचिव रमेश पौडेल, पूर्वअध्यक्ष गंगा रिजाल, कोशी सम्पर्क मञ्चका उपाध्यक्ष देवीप्रसाद रिजालसहित पूरै प्रदेश सम्पर्क समन्वय कमिटीले सामूहिक रुपमा पार्टी परित्याग गर्ने मनस्थिति बनाएका छन् । उनीहरुले पार्टी अध्यक्ष, सम्मानित नेता र महासचिवसँग भेट्नका लागि समय मागेको एक हप्ताभन्दा बढी भइसक्यो । तर, समय पाएका छैनन् ।
आजभोलिसम्म ती नेताको समय पर्खिने, अन्यथा पार्टी परित्याग गर्ने मनस्थितिमा छन् । बारा जिल्लाका पुराना कम्युनिष्ट नेता बतहु राय यादवको नामोनिशाना छैन । उनले अध्यक्ष माधवकुमार नेपालसँग भेटेर मनोनितमा नपरे पार्टी छाड्ने जानकारी दिएका छन् । बारा जिल्लाबाट केन्द्रीय सदस्य बनाइनेहरुको नाम काटिँदा पर्सा जिल्लामा पहिल्यै भएका केन्द्रीय सदस्यहरु परेर पनि थप एकजना केन्द्रीय सदस्य बन्न पुगे ।
केन्द्रीय सदस्य बनाइँदा किसान, महिला, मजदुर, युवा र विद्यार्थी संगठनबाट ताँतीका ताँती मान्छे भर्ति गरियो । वकिल, पत्रकारसहितका पेशागत संगठनलाई शून्य पारिएको छ । त्यसमध्ये प्रेस संगठनका संस्थापक अध्यक्ष तथा सहइञ्चार्ज शम्भु श्रेष्ठले दृष्टिमा बेदुराम भुसालको आलोचना गर्दै समाचार लेखेको आरोपमा उनको नाम काटियो ।
कानुन व्यवसायीको संगठन एसपिएलएका अध्यक्ष डेकेन्द्र सुवेदी, जनसांस्कृतिक महासंघका अध्यक्ष कृपाराम धमला, प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, सहकारी संगठनका अध्यक्ष नवराज अर्यालले पार्टी अध्यक्ष नेपालसँग अलग अलग भेटेर असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनीहरुले केन्द्रीय सदस्य चयनमा भएको मनोमानीका कारण पार्टी र संगठन निर्माणको क्रममा गम्भीर धक्का लाग्ने चेतावनी दिएका छन् ।
महिलातर्फ पनि अनेमसंघले सिफारिस गरेका थुप्रै नाम काटेर नेताका खल्तीबाट नाम निकाल्दै केन्द्रीय सदस्य बनाइयो । झापाबाट शारदा शर्माको नाम थियो । उनको नाम काटेर गैरराजनीतिक पृष्ठभूमिकी सविता भेटुवालको नाम हालियो । गण्डकी प्रदेशबाट रेखा लोप्चनको नाम सिफारिस भएको थियो । अन्तिममा नेताहरुलाई ‘मन नपरेका’ कारण नाम काटियो ।
मधेसमा बाराकी मालती कुशवाहभन्दा पुराना र क्षमतावान महिला हुँदाहुँदै उनैलाई केन्द्रीय सदस्य बनाइएको छ । मोरङकी जुनु पोखरेलले सिफारिस विपरित केन्द्रीय सदस्य बनाइएका कारण भूगोलमा काम गर्न नसक्ने भनी सामाजिक सञ्जालबाटै घोषणा गरेकी छन् ।
बाँकेबाट केन्द्रीय सदस्यको सिफारिसमा परेर पनि करिश्मा योगीको नाम काटियो । उनले आफू स्वतन्त्र हुने घोषणा गरेकी छन् । उनीसहित लुम्बिनी र कर्णाली प्रदेशका महिलाहरु पार्टी नेतृत्वसँग असन्तुष्ट छन् ।
महिलातर्फबाट सबैभन्दा चर्को असन्तुष्टि सुदूरपश्चिम प्रदेशमा देखिन्छ । पार्टीको प्रदेश इञ्चार्ज गरिमा शाहसहित अनेमसंघले गरेको सिफारिसमा राधिका अवस्थीको नाम थियो । तर, त्यसलाई लत्याउँदै दार्चुलाकी रुक्मणि जागरीसहित नेताहरुको खल्तीबाट निकालिएका नामलाई केन्द्रीय सदस्य बनाइएपछि असन्तुष्टि चुलिएको हो ।*
*सम्पादन गरिएको ।














