काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै थिए । एकछिनको भलाकुसारीपछि उनले लामो लेखका केही हरफ पढेर सुनाउन थाले । मङ्गलबार नै वरिष्ठ पत्रकार रिसालले जन्मदिन थियो । उनी ९७ वर्षमा टेके । घरमा जन्मदिनको शुभकामना दिन आउनेको लर्को नै थियो । तर पत्रकार रिसाल भने भक्तपुरको दधिकोटको ऐतिहासिक ‘चरखण्डी’ जात्राबारे लेखन र अध्ययनमै सक्रिय थिए ।

‘हातले कलम राम्रोसँग समात्न सकिन्न, थकान भइरहन्छ, आँखाले राम्रोसँग देख्न नसक्दा लेख पढ गर्न गाह्रो हुन्छ, तर पनि लेख्न र पढ्न मन लागिरहन्छ, एक मुठी श्वास रहुञ्जेल यो कामलाई निरन्तरता दिन्छु, बुढो भए भनेर कहिल्यै हरेस खानुहुँदैन’, पत्रकारिताको जीवन्त इतिहासका साक्षी रिसालले भने ।
पत्रकारितामा ‘पायोनियर’ वरिष्ठ पत्रकार रिसालले आधुनिक पुस्तालाई सन्देश दिँदै भने, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ, पत्रकारिता पत्रकारिताकै रुपमा रहिरहोस् । आजको पत्रकारिता पत्रकारितै भएर बाँचोस् । पत्रकारितामा सक्रियता र इमान्दारिताको खाँचो छ । पेसाप्रतिको इमान र निष्ठा हराउँदै गएको छ ।’
निष्ठापूर्ण पेसागत अभ्यास र इमानको पर्यायवाची नाम हो भैरव रिसाल । उनको पत्रकारिताप्रतिको समर्पणमा आजका दिनसम्म पनि कमी आएको छैन । जीवनको उत्तरार्धमा पनि उहाँ उत्तिकै सक्रिय छन् । रिसालको यो सक्रियता आधुनिक पुस्ताका पत्रकारका लागि अनुकरणीय र प्रेरणादायी छ । सन्तानब्बे वर्षीय रिसालले कत्ति पनि हिम्मत हारेका छैनन् । उनको इच्छा, साहस र जोस जागर अटल छ । शारीरिक रुपमा निकै कमजोर भइसक्दा पनि उहाँमा पेसाप्रतिको हुटहुटी उस्तै छ । जोश, जागर युवापुस्ताको भन्दा कम छैन ।
शुभेच्छुकबीच रिसाल
यही साउन २९ गते मङ्गलबार वरिष्ठ पत्रकार रिसाल परिवार, आफन्त र शुभेच्छुकको भीडभाडमा थिए । त्यसदिन अबेर साँझजम्म उनलाई जन्मदिनका अवसरमा दीर्घायुको शुभेच्छा थाप्न भ्याइनभ्याई थियो । परिवार, आफन्तदेखि विशिष्ट व्यक्तिहरुले वरिष्ठ पत्रकार रिसालको घरमै पुगेर शुभेच्छा प्रकट गरे । जन्मदिनको दिन पहिलो प्रहरमा जेठी छोरी सुष्मा सापकोटाले फोन गरेर बुबाको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे । त्यसपछि छोरीहरु र नजिकका आफन्त घरमा आएर मिष्ठान्न परिकार र भोजनसहित जन्मदिन मनाए । दिनभर शुभेच्छुकहरुले आशीर्वाद दिए ।
साँझ पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल वरिष्ठ पत्रकार रिजालाई जन्मदिनको शुभकामना दिन उनको घरमै आए । ‘निष्ठावान् र इमान्दार व्यक्तित्व पत्रकार रिसाल एक सच्चा वामपन्थी आन्दोलनको योद्धा नै हुनुहुन्छ’, उनले रिसालको प्रशंसा गर्दै भने, ‘उहाँले मर्न लागेको पत्रकारितालाई बचाउनुभएको छ ।’
राजनीतिप्रति खासै टिप्पणी गर्न नचाहने वरिष्ठ पत्रकार रिसाल पत्रकारितालाई जागिरका रुपमा लिन नहुने धारणा राखे । उनले भने, ‘पत्रकार जनताको प्रतिनिधि हुनुपर्छ, पत्रकारिता जनताको आवाज हुनुपर्छ । पत्रकारले निश्पक्ष, स्वच्छ र वस्तुनिष्ठ सामग्री सम्प्रेषण गर्नुपर्छ ।’
वातावरण संरक्षणमा पैरवी गर्न पनि वरिष्ठ पत्रकार रिसालको महत्वपूर्ण भूमिका रहेको छ । उनले बाग्मती सफाई, संविधानमा वातावरणको विषयलाई प्राथमिकता दिनुपर्नेलगायत मुद्दालाई सशक्त रुपमा उठाएका थिए । उनले भने, ‘वातावरणका मुद्दालाई किनारा लगाउन सकिएन । वातावरण संरक्षणका नाममा विकृति बढेको छ । बागमतीमा सफा पानी बगिरहोस् भन्ने मेरो चाहना छ ।’
‘अब सुनिनै छैन कुरोकन्थो’
वरिष्ठ पत्रकार रिसालले मङ्गलबारदेखि रेडियो सगरमाथाको कार्यक्रम ‘कुरोकन्थो’बाट बिदा लिए । उनले उक्त कार्यक्रम ७१ वर्षको उमेरमा २०५६ भदौ दोस्रो सातादेखि सुरु गरेका हुन् । उक्त कार्यक्रम हरेक मङ्गलबार प्रसारण हुन्थ्यो । ‘मङ्गलबारको शृङ्खला चलाएर अब रेडियो कार्यक्रम नगर्ने निर्णय लिए’, वरिष्ठ पत्रकार रिसालले भने, ‘अहिले मजदुर पत्रिकामा नियमित स्तम्भकारका रुपमा छु, अब दुई चार महिना मात्र लेख्छु होला ।’
वृद्ध उमेरमा पनि सक्रियतामा कुनै कमी छैन भन्ने जिज्ञासामा वरिष्ठ पत्रकार रिसालले भने, ‘अब चाहिँ बुढो भइएछ भन्ने लाग्छ, खुट्टा राम्रोसँग टेक्न सक्दिन, तर हरेस खाएको छैन, अझै लेख्ने हिम्मत र जोस, जागर कायमै छ ।’
विसं १९८५ मा भक्तपुरको गुण्डुमा जन्मनुभएका वरिष्ठ पत्रकार रिसालले २०१३ सालमा हालखबर दैनिकमार्फत पत्रकारिता सुरु गरेका थिए । करिब ६८ वर्षदेखि पत्रकारितामा रमाएका उनले २०२० सालदेखि २०४२ सालसम्म राष्ट्रिय समाचार समिति (रासस) मा काम गरे । उनले राससमा प्रमुख समाचारदाताको जिम्मेवारीसमेत निर्वाह गरे ।
वरिष्ठ पत्रकार रिसालले जगदम्बा श्री पुरस्कार, ‘अब्राहम कन्जरभेसन’ अवार्डलगायत प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । ‘साधुलाई सुली’, जेल डायरी, उहिले बाजेका पालामा, लोग्ने र स्वास्नी र केही मित्रका चिठी, सुशीला–भैरव, उहिलेका कुरा, नेपाली वाङ्मयका तीन तारा, भैरव रिसालका छानिएका रचना, भैरव दाइ, वितेका कुरालगायत उनका पुस्तक प्रकाशित छन् ।
जन्मदिनको अवसरमा तीन कृति
वरिष्ठ पत्रकार रिसालले ९७औँ जन्मदिनका अवसरमा यही साउन २६ गते तीनवटा कृति सार्वजनिक गरे । विभिन्न पत्रपत्रिकामा प्रकाशित उनका लेख रचनाको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना–२’ तथा ‘वितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति पाठकमाझ आएका छन् । वातावरण पत्रकारिताको अभियानकर्ता वरिष्ठ पत्रकार रिसालले नेपालको पहिलो निर्वाचित संसद्को रिपोर्टिङ समेत गरेका थिए । उनीसँग लामो समय संसदीय रिपोर्टिङको अनुभव छ । उनले २०१७ सालमा राष्ट्रिय जनगणता अधिकृतका रुपमा पनि काम गरेका थिए । वामपन्थी राजनीतिमा समेत लाग्नुभएका वरिष्ठ पत्रकार रिसाल २०४८ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट भक्तपुर क्षेत्र नं २ मा उम्मेदवार बनेका थिए ।
रिक्लाइन सोफामा अडिएको जिन्दगी
अनामनगरस्थित घरको दोस्रो तलामा वरिष्ठ पत्रकार रिसालको कोठा छ । त्यहाँ एउटा रिक्लाइनर सोफा छ, जसमा उनको जिवन अडिएको छ । प्रत्येक दिन उनको सोफामा बसेर बित्छ । उनी बिहान उठेदेखि राति नसुतेसम्म त्यही सोफामा बस्छन् । छोरी सुषमा रिसाल खतिवडाका अनुसार ‘चिया, पानी पिउने, खाना, खाजा खाने, आगन्तुकलाई भेटघाट गर्ने, लेखपढ गर्ने सबै गतिविधि त्यही सोफामा बसेर नै गर्छन् ।
‘बा सधैँ जवान रहनुहुन्छ भन्ने मेरो भ्रम टुटिसकेको छ । मलाई ताते गराउने मेरा बालाई आज हामी ताते गराउँछौँ, मलाई लेखपढ गर्न सिकाउने ‘बा’का हातबाट आज अक्षर बन्दैनन् जसले गर्दा उहाँका मनका कुरा अर्काले लेखिदिनुपछ’, उनले भने, ‘कान नसुन्ने भएपछि दोहोरो संवादमा कमै मात्र चाख राख्नुहुन्छ । मैले कहिल्यै आँशु नदेखेका मेरा बाका आँखा आजभोलि छिनछिनमा रसाउँछन् ।’














