काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रदेशस्तरमा केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेशस्तरमा संयुक्त केन्द्रीय परामर्श समितिकाे बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक प्रदेशस्तरमा अध्यक्ष, उपाध्यक्ष लगात पदाधिकारी जानेछन् । उनीहरूको सल्लाह र सुझाव अनुसार केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको प्रवक्ता सापकोटाले बताए ।
उनले भने, ‘प्रदेशस्तरमा केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको छ । कुन प्रदेशमा कहिले बैठक राख्ने भनेर कार्यतालिका बन्दैछ । प्रदेश बैठकमा अध्यक्ष, उपाध्य, महासचिव लगायत नेताहरू सहभागी हुनेछन् । प्रदेशस्तरमा भएको छलफल, सुझावका आधारमा पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको छ ।’
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको वैचारिक र राजनीतिक मतभेदलाई अन्त्य गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएको प्रवक्ता सापकोटाले बताए ।














