काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका छन् ।

जिल्ला अदालतमा थुनछेक बयानका लागि उपस्थित हुँदा झाले आफ्ना कानुन व्यवसायीले सिकाए अनुरूप बयान दिएका छन् । उनले आफ्ना कानुन व्यवसायीले जेजे भन्नु भनी सिकाएका थिए त्यहीमात्र बोलेर अरू कुरामा मौन रहेका हुन् ।
झालाई न्यायाधीशले १४ वटा प्रश्न गरेपनि वकिलले सिकाएअनुसार नै जवाफ दिएका थिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा ठगी, लिखत किर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा बयान दिँदै झाले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि रकम कसैसँग नलिएको दाबी गरे ।
जिल्ला अदालतमा उनलाई सवाल नम्वर ९ मा रामशरण केसीले आफ्नो नाउँको हिमालयन बैंकको दुई करोडको चेक वानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि भेटी दिएको विषयमा प्रश्न सोधिएको थियो ।
जवाफमा उनले आफूले रामशरण केसी भन्ने व्यक्तिलाई तथा सानु भण्डारीलाई नचिनेको दाबी गरे । उनले रामशरण केसीलाई नभेटेको र चेक पनि नलिएको दाबी गरेका छन् ।


















