पशुपति क्षेत्रमा एक महिनासम्म कोटीहोम चल्यो । कोटिहोममा विभिन्न बिदुषीले कथा सुनाए । उनीहरूलाई सुन्न कोटीहोममा भक्तजनको भीड लाग्यो । नौ वर्षीया अनुराधा पाण्डेयले पनि कथा सुनाइन् । जो विश्वकै कान्छी कथावाचकका रुपमा चिनिन्छिन् । उनी कथा वाचनकै लागि बृन्दावनदेखि नेपाल आएकी हुन् ।
अनुराधा बृन्दावनस्थित श्रीधाम बृन्दावनमा कक्षा ६ मा अध्ययनरत छिन् । ६ वर्षकै उमेरदेखि कथावाचन सुरु गरेकी अनुराधा भन्छिन्, ‘भविष्यमा पनि भागवत गीतामार्फत सनातन धर्मलाई अघि बढाउने लक्ष्य लिएकी छु ।’ कथावाचक अनुराधा पाण्डेयसँग रेजिना पाण्डेको जम्काभेट :

साथीहरूसँग खेल्ने उमेरमा कथावाचिकाको रुपमा चिनिनुभएको छ, कस्तो लागिरहेको छ ?
ज्ञान लिन र दिन उमेरले छेक्दैन रहेछ । मलाई भगवानको भजन र भागवत गीताहरू पढ्नमै रुचि भयो । अहिले मलाई यसैमा आनन्द लागिरहेको छ ।
बेला बेला आफ्ना उमेरका साथीहरूसँग खेल्न पाए हुन्थ्योजस्तो लाग्दैन ?
जसलाई जे मनपर्छ, त्यहि गर्ने हो । म भगवानको कथामै रमाउँछु । मलाई हातमा गीता समाएर ज्ञान वटुल्न रहर लाग्छ । भागवत गीता मेरो सबथोक हो ।
यस्तो प्रेरणा कहाँबाट पाउनुभयो ?
मेरो परिवारमा सबैजना धार्मिक हुनुहुन्छ । मेरो बाबा टीकाराम पाण्डेय बृन्दावन धाम गेधुलीपुरमा व्याकरण एवं संस्कृत भाषाको बिद्धान गुरुवर र बृन्दावन धाममा व्याकरणचार्यको रुपमा चर्चित हुनुहुन्छ । उहाँ अनेक प्रकल्प चलाएर विद्यार्थीलाई संस्कृत भाषा र व्याकरण शिक्षा दिइराख्नु भएको छ । बाबा र आमा गौरी पाण्डेय तथा ठाकुरजीको कृपा तथा गुरुजनहरूको आर्शीवादले यहाँसम्म आउने प्रेरणा मिलेको हो ।
तपाईँको विचारमा भगवान को हो ?
भगवान भनेको मनको शान्ति, आस्था र जीवनको अभिभावक हो ।
धर्म के हो ?
कर्म गर्न डो¥याउने माध्यम धर्म हो, जसले सम्पूर्ण प्राणी जगतको हित गर्छ ।
भगवान राम र कृष्णमा के फरक छ ?
राम मयार्दा पुरुष हुनुहुन्छ र कृष्ण लिलामय पुरुष हुनुहुन्छ । दुवैको आ–आफनो विशेषता छ ।
भगवान राम र कृष्णमध्ये एकलाई छान्नुप¥यो भने कसलाई रोज्नुहुन्छ ?
कृृष्ण । किनकि, मैले भागवत गीता अध्ययन गरेकी छु । मैले राम चरित्र पढ्न बाँकी नै छ ।
तपाईँ कति भाषामा कथावाचन गुर्नहुन्छ ?
तीन वटा भाषामा कथावाचन गर्छु । संस्कृत, नेपाली र अंग्रेजी भाषामा कथावाचन गर्दै आएकी छु ।
सानै उमेरमा चर्चित भएँ भनेर घमण्ड आउँछ कि आउँदैन ?
त्यस्तो घमण्ड मसँग छैन । भगवानलाई अभिमान मनपर्दैन । आजसम्म मलाई अभिमान र घमण्ड कहिल्यै आएन । अभिमान र घमण्डले ज्ञान नाश हुन्छ, विवेक हराउँछ । ज्ञान भन्ने कुरा सबैलाई बाँढ्ने हो ।
पहिलोपटक नेपाल आउनुभएको हो ?
म यसअघि पनि नेपाल आएकी छु । यसअघि तीन पटक नेपाल आएर कथावाचन गरिसकेकी छु ।
तपाईँलाई बृन्दावन राम्रो लाग्छ कि नेपाल ?
हामी नेपालीलाई त नेपाल नै राम्रो लाग्छ । त्यसैले त नेपाल आइरहन्छु । तर, मेरो पढाइ बृन्दावनमै छ । त्यहाँ बसेर मैले आफ्नो अध्ययन पूरा गर्नुछ ।
सनातन धर्मको प्रचार गरिरहँदा विरोध आउँछ होला नि ?
अलि अलि आउँछ । तर, कसैले कसैको विरोध गर्न जरुरी छैन । यहाँ साधु बने पनि विरोध गर्छन् । डाका बने पनि विरोध गर्छन् । अहिले सबैको हात–हातमा भएको स्मार्ट फोनले सजिलो बनाइदिएको छ । कुरै नबुझी मान्छेहरू विरोध गर्छन् । तर, भगवान सर्वत्र हुनुहुन्छ ।
यहाँ आ–आफ्नो धर्म राम्रो भन्छन् नि ?
धर्म जुनै भएपनि धर्म नै हो । धर्मले पे्रम फैलाउने हो । कसैले कसैको धर्ममाथि आलोचना गर्ने होइन । आलोचनाले मानिसलाई गाल्छ । जीवन सुन्दर छ, आनन्दले जिउनुपर्छ ।
पछिल्लो समय संस्कृत भाषा हराउँदै गएको छ नि ?
पहिलो कुरा हामीले हाम्रो भाषा, संस्कृति र कलालाई कहिल्यै मर्न दिनु हुँदैन । सँधै जगेर्ना गर्नुपर्छ । पुराना धार्मिक ग्रन्थहरू संस्कृतमा लेखिएका छन् । ग्रन्थहरूको अध्ययनका लागि पनि संस्कृत भाषा चाहिन्छ ।
खासमा भगवान कहाँ हुनुहुन्छ ?
भगवान आस्था हो । भगवानको मूर्ती देख्नेवित्तिकै हाम्रो शिर झुक्ने गर्छ । त्यसैले भगवान छैन भन्नु मुर्खता हो । भगवान सर्वत्र हुनुहुन्छ ।
सांसारिक मोह भनेको के हो ?
अदृश्य खाल्डो नै सांसारिक मोह हो । जहाँ मानिसले आफ्नाले आफनालाई नै हानी पु¥याउँछ ।
हालसम्म कति ठाउँमा कथावाचन गर्नुभएको छ ?
मैले हालसम्म १० ठाउँमा कथावाचन गरेकी छु । पहिलोचोटी देवघाटमा कथावाचन गरेकी थिएँ । नवलपरासी हँुदै पशुपतिसम्म आइपुगेँ ।
सयौँ मान्छेका अगाडि कथावाचन गर्दा डर लाग्दैन ?
लाग्दैन । उहाँहरू मेरो कथा, भजन सुन्न आउनुभएको हो । मलाई हानी गर्न आएको होइन नि । त्यसैले डर लाग्दैन ।














