काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

‘शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।’
अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे । उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐननियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाए ।
‘राजनीति र शिक्षकको भूमिकालाई नबुुझेकाहरूले शिक्षकमाथि एकतर्फी दमनचक्र लगाउन खोजेका थिए । शिक्षकलाई राजनीतिबाट अलग गराएँ भनेर घोषणा गरेका थिए । त्यो शिक्षकहरूलाई लपेट्ने प्रयास हो । ती प्रयास गलत थिए’, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले भने, ‘वास्तवमा अरस्तु र प्लेटोका पालादेखि नै मानिस राजनीतिक प्राणी हो भन्ने स्पष्ट भइसकेको थियो । त्यसैले यो सरकार शिक्षकमाथि कुनै शत्रुता राख्नुपर्ने कारण देख्दैन । शिक्षकहरूले आफ्नो कर्म र दायित्वलाई इमान्दार रुपमा निर्वाह गरिदिए पुुग्छ । कक्षाकोठाभन्दा बाहिर पनि शिक्षकहरू समाजको विकृति बढार्ने काममा साँझ-बिहान लाग्नुपर्छ । शिक्षक हुनु भनेको जागिरे हुनु होइन, एक प्रकारको जागरण हो ।’
उनले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् । उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए । ‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्नेगरीको हुन्छ’, उनले यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय शिक्षक संगठनले घर बनाएको भन्दै प्रशंसा गरे ।
अहिले मुलुकको अर्थतन्त्र असहज र अप्ठ्यारो स्थितिमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पनि अर्थतन्त्रले धान्ने गरी सुधारको काम गर्नुपर्ने बताए । ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु हामी हरेक जिम्मेवार छौं, जिम्मेवारीवोधका साथ चल्छौं र चल्ने परिपाटी बसाउँछौं’, उनले भने ।
शिक्षकले विद्यालय मात्र नभई बाहिर पनि काम गर्नुपर्ने भन्दै ओलीले यसलाई कतिपयले नबुझेर राजनीति गरेको भन्ने टिप्पणी गरेको बताए ।
‘तपाईंहरुको विद्यालयमा मात्र होइन, बाहिर पनि काम हुन्छ, सामाजिक उत्तरदायित्व हुन्छ, घरमा पनि उत्तरदायित्व छ । त्यसकारण नबुझ्ने मान्छेले सामाजिक उत्तरदायित्व बुझ्दैन र राजनीति गरेको आरोप लगाउँछ, अहिले परिस्थिति अलि बदलिएको छ’, प्रधानमन्त्रीले भने ।














