Logo
Logo

पण्डितले समाज र राष्ट्रलाई दिएको योगदानको मूल्यांकन गर्नुपर्छ : विद्यादेवी भण्डारी


378
Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

गणेश पण्डित स्मृति केन्द्रले आज आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ वामचिन्तक गणेश पण्डितको स्मृति ग्रन्थ विमोचन समारोहमा उनले पण्डितको मूल्यांकन पनि समाज र राष्ट्रलाई दिएको योगदानका आधारमा गर्नुपर्ने धारणा राखे ।

पूर्वराष्ट्रपति भण्डारीले अनेकौँ अवसरलाई बेवास्ता गर्दै जिल्लाको शैक्षिक उन्नयनका लागि समर्पित पण्डितले पञ्चायती कालरात्रिको अवधिमा अनेक यातना र जेलनेल भोग्नुपर्दा समेत राजनीतिमा निरन्तर लाग्नुभएको बताए । ‘अप्ठ्यारो परिस्थितिमा समेत निर्भयका साथ देश र जनताका पक्षमा निरन्तर क्रियाशील भइरहने उहाँको क्रान्तिकारी स्वभावबाट खुला लोकतान्त्रिक परिवेशमा राजनीतिमा आबद्ध भएका नेता तथा कार्यकर्ताले गहन शिक्षा लिनुपर्दछ’, उनले भने ।

पूर्वराष्ट्रपति भण्डारीले विसं २०१७ देखि २०४६ सम्म पञ्चायती शासनको कहालिलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गरे । जनस्तरबाट स्थापित नेता पण्डितको स्मृति ग्रन्थ प्रकाशन गरेर केन्द्रले राष्ट्र र जनताका लागि पण्डितले दिएको योगदानलाई जनसमक्ष ल्याउने र उनको स्मृतिलाई चिरस्थायी बनाउने काम गरेकामा प्रशंसा गरे ।

विसं २००३ साउन ३० गते नुवाकोटको शिखरबेँसीमा जन्मनुभएका गणेश पण्डितको पछिल्ला समयमा धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा लागेका थिए । उनको २०७५ साल फागुन २९ गते निधन भएको थियो । विद्यार्थी आन्दोलनमा लागेबापत पण्डितलाई पञ्चायती सरकारले उपत्यका प्रवेश निषेध गरेपछि उनी आफ्नो गृह जिल्ला नुवाकोटमा शिक्षण पेसामा आबद्ध थिए । सुरूमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)मा आबद्ध भई वामपन्थी राजनीतिमा होमिएका पण्डित २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनतर्फबाट सक्रिय हुनुभएको पूर्वराष्ट्रपति भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्