
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा आज भारत भ्रमणमा जाँदैछन् । भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको औपचारिक निमन्त्रणामा उनी पाँचदिने भ्रमणमा आज दिल्ली प्रस्थान गर्ने गर्न लागेका हुन् ।
उनी आज बिहान साढे ११ बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको छ ।
दुई देशबिचको सम्बन्ध विस्तारसँगै उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने गरी यस भ्रमणमा परराष्ट्रमन्त्री राणाले पहल गर्ने अनुमान छ ।
भ्रमणका क्रममा उनले दुई देशबिचको विकास साझेदारी तथा भाबी सहकार्यका कार्यसूचीमाथि विदेशमन्त्री जयशङ्करलगायतका उच्चाधिकारीसँग छलफल गर्ने जनाइएको छ ।
मन्त्री राणाले भोलि समकक्षी जयशंकरसँग भेट गर्ने छन् । मन्त्री राणासहितको तीन सदस्यीय टोली भदौं ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।














