नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । गएराति बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई खुकुरी प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी एमालेबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।
बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीअनुसार वलीको खुकुरी प्रहारबाट घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
सामान्य विवादमा वडाध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एकदर्जन युवाले उनीहरुमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । वडाध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । उनीमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।














