काठमाडौं । बुढानिलकण्ठ–९ एकताबस्तीस्थित लोयल्टी एकेडेमीले शैक्षिक सत्र २०८० को एसएलसी (कक्षा १२)को वार्षिक परीक्षा उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरूलाई एक समारोहबीच दीक्षित गरेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त दीक्षान्त समारोहमा कक्षा ९ र १२ का विद्यार्थीले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कक्षा १२ उत्तीर्ण विद्यार्थी र तिनका अभिभावक तथा शिक्षकवर्गको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि, विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, संस्थापक निर्देशक नन्दा सुब्बालगायतबाट विद्यार्थी र अभिभावकलाई टिका, खादा र मायाको चिनो प्रदान गरिएको थियो ।
संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयसम्म संलग्न व्यक्तित्व तेजुलाल (टि.एल.) चौधरी युवा तथा खेलकुदमन्त्री बनेकोमा लोयल्टी एकेडेमीले उनलाई सम्मान गरेको थियो ।

कार्यक्रममा सम्मानीत भएपछि मन्त्री चौधरीले लोयल्टी एकेडेमीसँग आफ्नो धेरै पुरानो सम्बन्ध भएको अनुभवहरु सुनाउँदै सो सम्मानका लागि लोयल्टी एकेडेमीप्रति खुशी व्यक्त गरेका थिए । विद्यालयबाट दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै उनले आफूलाई यो सम्मानले थप प्रवाभकारी कार्यसम्पादनमा उर्जा मिलेको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा समापनको क्रममा संस्थापक अध्यक्ष सम्बाहाम्फेले व्यस्त समयका बाबजुद विद्यालयको निमन्त्रणालाई स्वीकारी कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि तथा अतिथिप्रति धन्यवाद ज्ञापन गरेका थिए । उनले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सफलताका लागि मानिसले लक्ष्य निर्धारण गर्नुपर्ने र गन्तब्य तय नगरी सफलता चुम्न नसकिने भन्दै विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलता लागि शुभकामना दिए ।














