काठमाडौं । गत असार १४ गते नेपाल प्रहरीको विशेष ब्युरोले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई पक्राउ गर्यो । त्यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका बेचन झा ठूला राजनीतिक घरानसँग प्रत्यक्ष सम्बन्ध राख्ने गिरोहका रुपमा चर्चा हुँदै आएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । यो प्रकरणमा झाले गिरोहबाट २ करोड रुपैयाँ बुझेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

बेचन र प्रतीक पक्राउ पर्नसाथ तत्कालीन सत्ता साझेदार दल एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबीच सहकार्यको सहमति भयो । झा पक्राउ परेको भोलिपल्ट नै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।
त्यसको दुई दिन पछि कांग्रेस–एमालेबीच सत्ता सहकार्य भयो । गत असार १७ गते मध्यरातमा कांग्रेस सभापति शेरबहदुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सात बुँदे सहमति भयो ।
त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार ढल्यो । यसलाई धेरैले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झासँग जोडे । तत्कालीन प्रधानमन्त्री प्रचण्डका साथै गृहमन्त्री रवि लामिछानेले पनि बेचन झा पक्राउ परेपछि रातारात सत्ता समीकरण परिवर्तन भएको दाबी गरे ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दियो । झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ ।
तर, यो मुद्दाले वर्तमान सत्ता गठबन्धन र नेतृत्वलाई शंकाकै घेरामा राखेको छ । इन्कारी बयान गरेका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएको थियो । प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए ।
हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका थिए । उनले बयानमा भनेका थिए, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’
कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना प्रहरीसँग थियो । तर, झाले इन्कारी बयान दिएकाले त्यसतर्फ अनुसन्धान गर्न सकेन ।
बयानको क्रममा झाले नक्कली भुटानी शरणार्थीको विषयमा केही पनि थाहा नभएको दाबी गरेका छन्। बयानमा भनेका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान, सम्पर्क नभएकाले निजले कहाँ, कस्तो बयान दिएका हुन्, उनै जानुन् । चेकको सम्बन्धमा केही जानकारी छैन ।’
झुटो बोलेको परीक्षण गर्ने पोलिग्राफ टेस्ट गर्न नमानेको अभियोगपत्रमा उल्लेख छ । पक्राउ परेको दुई सातासम्म बयान नै दिन नमानेका झाले कानुन व्यवसायीहरूसँग सल्लाह गरेपछि केही जानकारी नभएको भनेर इन्कारी बयान दिएका हुन् ।
झाले चेक नलिएको बयान दिए पनि प्रहरी अनुसन्धानले भने उनले चेक लिएर खातामा जम्मा गरेको पुष्टि भएको छ । झाको कम्पनीमा काम गर्ने कर्मचारीले सो कुरा पुष्टि गरेका हुन्। उनको विभान्सु ब्रदर्स नामक कम्पनीमा काम गर्ने कर्मचारी कञ्चन श्रेष्ठले सो कुरा प्रहरीमा प्रमाणित गरिदिएका हुन्।
झाले दर्तामा छुट भएका नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर अमेरिका पठाउन मन्त्रिपरिषद्बाटै निर्णय गरिदिने भन्दै रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए । सो चेक आफ्नो खातामा जम्मा गर्न उनले कञ्चनलाई लगाएका थिए ।
झाको इन्भेस्टमेन्ट बैंकको खातामा सो चेक जम्मा गरिएको थियो । तर, पैसा नपुगेपछि बैंकबाट चेक फिर्ता आएको र आफूले झालाई दिएको कञ्चनले प्रहरीमा गरेको कागजमा उल्लेख छ ।
प्रहरीले अनुसन्धानको क्रममा उनीविरुद्ध संकलन गरेको सबैभन्दा बलियो प्रमाण यही हो । पछि सो चेक नसाटिएपछि हरिभक्त महर्जनले नगद पैसा नै उनलाई दिएकोसमेत अनुसन्धानमा खुलेको छ ।
प्रहरी अभियोगपत्रअनुसार उनले नक्कली भुटानी शरणार्थीको पक्षमा मन्त्रिपरिषद्बाटै निर्णय गराउने आश्वासन दिएका थिए । झाले मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्स्थापना गर्नेसम्बन्धी निर्णय हुँदै छ भन्ने विश्वासमा पारेर पैसा लिएका थिए । उनले भनेकै मिति १३ मंसिर ०७८ मा मन्त्रिपरिषद्ले छुट भएका भुटानी शरणार्थीलाई पुनर्स्थापनाका लागि पहल गर्ने निर्णयसमेत गरेको थियो ।
त्यसैले बेचन झा पक्राउ परेपछि नक्कली शरणार्थी प्रकरणका राजनीतिक हाईप्रोफाइल कनेक्सन खुल्ने अनुमान गरिएको थियो । उनी पक्राउ परेको २ महिना हुनै लाग्दा पनि हाई प्रोफाइल कनेक्सन प्रहरीले पत्ता लगाउन सकेको छैन । तर, झामाथि गरिएको अनुसन्धानलाई शङ्कास्पद मानिएको छ । यो प्रकरणमा सबैभन्दा बढी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा परराष्ट्र मन्त्री आरजु राणा मुछिँदै आएका थिए ।
बेचन झालाई पक्राउ गरेपछि एकाएक राजनीतिक उथलपुथल भयो । अहिले प्रहरी अनुसन्धानमा हाई प्रोफाइल कनेक्सन नभेटिएको भनिएपनि उनी पक्राउपछिको राजनीतिक दृश्यहरू भने सामान्य थिएनन् ।
झाको पक्राउ र त्यसपछि सरकार परिवर्तन भएको घटनालाई माओवादी केन्द्र लगायतका दलहरूले ठूलो षडयन्त्रको रुपमा बुझे । प्रचण्ड र रवि लामिछाने लगायतले संसदमै विभिन्न काण्डहरूको नाम लिँदै कांग्रेस एमाले गठबन्धन किन र कसरी बन्यो भनेर बोले ।
देशको प्रधानमन्त्री र गृहमन्त्री भइसकेकाहरूले संसदमै इशारा गरेका झा झन्डै डेढ वर्षपछि पक्राउ पर्दा नक्कली शरणार्थी प्रकरणको धेरै कुरा भेद खुल्ने र अन्य राजनीतिक दल उच्च तहकै नेताहरूसमेत पक्राउ पर्ने भनेर गरिएको अनुमान अहिले व्यर्थ भएको छ ।
सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रका आधारमा नक्कली शरणार्थी प्रकरणमा संलग्न भनिएका राजनीतिक दलका अन्य नेताहरूलाई राहत मिल्ने देखिएको छ ।














