तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीलाई आज जनैपूर्णिमाको अवसरमा रक्षाबन्धन लगाइदिएको छ । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले उनीहरूलाई रक्षाबन्धन लगाइदिएको हो ।

दमौली शाखाकी सञ्चालिका बह्माकुमारी यमुनालगायतले यहाँका कैदीबन्दीलाई रक्षाबन्धन बाँधिदिएका हुन् । कारागारका महिला र पुरुष दुवैलाई रक्षाबन्धन अवसर प्रदान गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार जनैपूर्णिमा मनाउन नपाएर खल्लो नहोस् भन्नको लागि इच्छुक सबैका लागि रक्षाबन्धन अवसर प्रदान गरिएको हो । कारागारमा हाल २७ महिला र पुरुष तीन सय २६ जना कैदीबन्दी रहेका उनले जानकारी दिए ।
ब्राह्मण समाजको सामूहिक रक्षाबन्धन
जातीय सद्भावका लागि जनैपूर्णिमाका अवसरमा बाह्मण समाज तनहुँद्वारा दमौलीमा आज सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको छ । जातीय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेले भने, ‘रक्षाबन्धनका लागि सबैलाई सहज वातावरण होस् तथा जातीय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको हो ।’
सामाजिक त्रुटिका रूपमा रहेको जातीय विभेद्को अन्त्यका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । दमौलीस्थित परासर आश्रमका गुरु र बटुकहरूले रक्षासूत्र लगाइदिएका थिए । उक्त कार्यक्रममा विभिन्न जातजातिका मानिसको सहभागिता रहेको थियो ।














