काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । नयाँदिल्लीमा सोमबार परराष्ट्रमन्त्री आरजु राणासँग द्विपक्षीय छलफलपछि उनले यस्तो खुसी व्यक्त गरेका हुन् ।
परराष्ट्रमन्त्री राणा अहिले भारत भ्रमणमा छिन् । विदेशमन्त्री जयशंकरको औपचारिक निम्तोमा उनी पाँचदिने भारत भ्रमणमा गएका हुन् ।
‘नेपालले भारतमा करिब १००० मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो’ नेपाल–भारत द्विपक्षीय बैठकपछि भारतीय विदेशमन्त्री जयशंकरले भनेका छन् । सोमबार मात्र भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो ।

अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिएको हो ।
नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुगेको छ । २५१ मेगावाट स्वीकृत हुनुअगावै नै गत आर्थिक वर्षमा १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत् नेपालले भारतलाई बिक्री गरेको थियो ।
भारतले सोमबार थप २५१ मेगावाट विद्युत् निर्यातको लागि स्वीकृति दिएपछि अब नेपालले झन्डै एक हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न पाउने भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रूपमा भारतमा राणालाई स्वागत गर्न पाउँदा पनि खुसी लागेको जनाएका छन् । उनले भनेका छन्, ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक सहयोगका बारेमा छलफल भएको थियो ।’
परराष्ट्रमन्त्री राणाले भारतका विदेशमन्त्री जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । ‘एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो । द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो’ परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
आफ्नो भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले सिएको उनले बताएकी छन् ।
परराष्ट्रमन्त्री आरजुको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको पनि भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालय उत्तरी महाशाखाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ ।’
परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् । उनले सोमबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट गरेका छन् ।
यस्तो छ विज्ञप्ति
विदेश मन्त्रालय
उत्तरी महाशाखा
नेपालका माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमण
भारतका विदेशमन्त्रीको निमन्त्रणामा नेपालका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मिति २०८१ भाद्र २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ ।
२. दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दैे मिति २०८१ भाद्र ३ गते द्विपक्षीय कुराकानी गर्नुपरÞ्यो । वहाँहरुले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरुबारे पनि छलफल गर्नुभयो ।
३. गहिरो ऐतिहासिक, सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरु हुन् । हालैका वर्षहरुमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले गति हासिल गरेको छ जुन विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तैं भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।
४. नेपालले अब करिब १००० मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा गर्दै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिका बारे कुरा गरेका थिए । यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरहरु उपर छलफल गर्नुभयो ।
५. नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रुपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरियो ।
६. भ्रमणका क्रममा नेपालका परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको थियो ।
७. छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ । भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरुबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ ।
नयाँ दिल्ली
२०८१ भाद्र ३














