Logo
Logo

गट्ठाघर दुर्घटना- स्कुटरलाई लतारेको ट्रक चालकले थाहै पाएनन्


2.5k
Shares

काठमाडौं । गत बिहीबार भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको घटना ट्रक चालकले थाहा नपाएको निष्कर्ष निकालिएको छ ।

दुर्घटनाबारे जाँचबुझ गर्न गठित उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको समितिले ट्रक चालकले दुर्घटनाबारे थाहै नपाएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

समितिले गरेको सोधपुछका क्रममा ना ६ ख २१७३ नम्बरको ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठले आफूले स्कुटर नै नदेखेको बयान दिएका हुन् ।

उनले आफूले स्कुटर नदेखेको र केही पछि मात्रै चक्काले केही वस्तु घिसारेजस्तो लागेपछि लुकिङ ग्लास हेर्दा दुर्घटना भएको थाहा पाएको बयान दिएका थिए ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार दुर्घटना हुँदा ट्रक भन्दा पछाडि आइरहेको अर्को गाडीका चालकसँग सोधपुछ गर्दा उनले पनि दुर्घटना भएपछि मात्र स्कुटर देखेको बयान दिएका छन् ।

गत बिहीबार श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा ४९ प ८९४४ नम्बरका स्कुटर चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा ट्राफिक प्रहरीको लापरबाही भएको आरोप लागेपछि प्रहरीले एसपी केसीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिले प्रतिवेदनमा ट्राफिकको कमजोरी नरहेको राय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्