काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ यस्तो व्यवस्था छ । वर्णानुक्रमअनुसार सांसदहरूले प्रश्न सोध्दै आएका छन् ।
त्यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

यस्तै, आजको बैठकमा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूचीमा उल्लेख छ ।
धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची रहेको छ ।
त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् भने आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलोसंशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ ।














