
काठमाडौं । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमही–कोइलाबास सडक विस्तार गर्न आफ्नै घर भत्काएका छन् ।
बुधबार दिउँसो लमही बजारमा रहेको आफ्नो पुरानो घरमा डोजर चलाएर मेयर चौधरीले हुलाकी सडक विस्तार सुरु गरेका हुन् ।
सडक फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा परेपछि आफ्नै घर भत्काएर सडक विस्तार सुरु गरेको उनले बताए । भारत सरकारको ७६ करोड अनुदान सहयोगमा ३३.४६ किलोमिटर लामो लमही–कोइलाबास हुलाकी सडक विस्तार गरी कालोपत्र गरिएको थियो । त्यसक्रममा ३६ करोड बढी बजेट मुआब्जामा खर्च भएको छ ।
हुलाकी सडक औपचारिक रुपमा नेपाल सरकारलाई २०७७ साल चैत १८ गते हस्तान्तरण भएको थियो । तर लमही बजार क्षेत्रमा भने सडक साँघुरो छ । त्यहीभएर लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।














