
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोचच अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।
वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकारीले दायर गरेको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाइएको रिटमा प्रहरी सङ्गठनमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको छ ।
नेपाल प्रहरीमा ९० जना अधिकारी यही भदौ १५ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । उमेर हद बाँकी नै रहे पनि सेवा अवधि ३० वर्ष पुगेका कारण घर जानुपर्ने भएपछि उनीहरू सर्वोच्च पुगेका हुन् ।














