काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय मुद्दामा दलहरुबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको छलफलमा भाग लिँदै श्रेष्ठले सरकारमा रहँदा वा नरहँदा विरोध वा समर्थन गर्ने नभई कम्तिमा राष्ट्रिय मुद्दामा दलहरूबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताएका हुन् ।
उनले अहिलेको मुलुकको ऐतिहासिक आवश्यकतामा सबै दलहरू गहन हुनुपर्नेमा जोड दिए । श्रेष्ठले लोकतन्त्र, सामाजिक आर्थिक रूपान्तरण र शान्तिका लागि गम्भीर हुनुपर्ने भन्दै यसमा आफू अनुकुलको व्याख्या र व्यवहार गर्न नहुने जिकिर गरे ।
वास्तविक रुपमा जनताले लोकतन्त्रको महसुस गर्न नसके देश अघि बढ्न नसक्ने भएकाले यसका लागि दलहरूले अगुवाई गर्नुपर्ने उनले बताए । उनले लोकतन्त्र र शान्तिको लाभ जनतालाई दिन सके शान्ति लामो समयसम्म कायम हुनसक्ने उल्लेख गरे ।
उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गिन लामो समय लाग्नु स्वभाविक नरहेको भन्दै अब पीडित र सरोकारवालाहरूको आवाजलाई सम्बोधन गर्ने गरि सर्वस्वीकार्यताका साथ अघि बढ्नुपर्ने धारणा राखे । आफ्नै माटोमा जन्मिएको शान्ति प्रक्रियालाई अव सबै मिलेर निष्कर्षमा पुराउनु पर्ने उनको भनाइ छ ।














