काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुराउन पीडितलाई दिने न्यायमा ध्यान दिनैपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन विधेयक, २०७९ माथिको छलफलका क्रममा सिटौलाले विधेयक निष्कर्षमा पुग्नै लाग्दा केही असन्तुष्टिहरू पनि बाहिर आउन थालेको भन्दै पीडितलाई दिने न्यायमा ध्यान दिएर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुराउनु पर्ने बताएका हुन् ।
उनले अब सबैको ध्यान बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा केन्द्रीत हुने भएकाले गम्भीरतापूर्वक सरकारले आगामी कदम चाल्नुपर्ने धारणा राखे । शान्ति सम्झौताको अधुरो काम द्वन्द्वपीडितलाई न्याय दिनका लागि अब ढिलाई गर्न नहुने उनको भनाई छ ।
सिटौलाले सुराकीको आशङ्काका भरमा राज्यपक्ष वा विद्रोही पक्ष दुवैपक्षबाट पीडित भएका परिवारलाई पनि न्याय दिन सक्नुपर्नेमा जोड दिए ।
उनले देशलाई कठिन अवस्थामा एक भएर जोगाउने दलहरुबीच अहिले विश्वासको खाडल देखिएको भन्दै फेरी एकपटक सबै राजनीतिक दलहरू एक भएर मुलुकमा देखिएका चुनौतीको सामना गर्नुपर्ने धारणा राखे ।














