काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।

मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीका अनुसार भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा २५ जना घाइते भएका छन्।
घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इन्सपेक्टर भण्डारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिए ।














