काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले पदाधिकारीमा ३०, केन्द्रीय समिति सदस्य २७, केन्द्रीय अनुशासन आयोग ६, केन्द्रीय लेखा परीक्षण आयोग ५ र केन्द्रीय निर्वाचन आयोगमा ५ सदस्य चयन गरेका हुन् ।
जसपाले गत जेठ २८, २९ र ३० गते जनकपुरमा पार्टीको महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनबाट अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य पदाधिकारी छनोट भएका थिएनन् ।
आज जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ भने मनिष कुमार सुमनलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।