काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा पहिलो प्रधानमन्त्री बनाउन चाहेको बताएपछि नेपालको पहिलो महिला प्रधानमन्त्री को बन्लान् ? भन्ने चर्चा र बहस सुरु भएको छ । प्रधानमन्त्री ओलीले नै ‘प्रधानमन्त्री महिला’लाई बनाउने भनेपछि अहिले महिला नेतृको खोजी हुन थालेको छ ।
महिला प्रधानमन्त्री बन्ने योग्य व्यक्ति को होलान् भन्ने कौतुहलता पनि बढेको छ । पहिलो महिला प्रधानमन्त्री बन्न सक्नेमा सबैभन्दा बढी सम्भावना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको देखिन्छ ।

अहिले देखिएका महिला नेतामा काँग्रेसबाट आरजु र एमालेबाट विद्याबाहेक कोही पनि भावी प्रधानमन्त्रीको लाइनमा देखिँदैनन् । तर, राष्ट्रपतिबाट बिदा भएकी भण्डारी अहिले सांसद छैनन् ।
यही संसद्को कार्यकालमा सम्भावना भएको आरजु मात्र देखिन्छिन् । परराष्ट्रका मन्त्रीका रूपमा भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री सरहको महत्त्व पाएपछि आरजुलाई धेरैले पहिलो महिला प्रधानमन्त्रीका रूपमा हेरेका छन् ।
भारतको ‘ग्रीन सिग्नल’ पाएका आरजुलाई प्रधानमन्त्री ओलीले पनि बल पुग्ने गरी अभिव्यक्ति दिएपछि अब पार्टीमा पनि उनले माहोल बनाउने चर्चा हुन थालेको छ ।
गत शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने– ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुस्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु,
‘म कमसे कम यस्तो सौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो ।’
प्रधानमन्त्री ओलीले मात्रै नभएर कांग्रेसकै नेताहरू पनि नेपालले छिट्टै महिला प्रधानमन्त्री पाउने बताउँदै आएका छन् ।
गत साउन दुई गते काठमाडौँको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै कोइरालाले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताएका थिए।
भारत भ्रमणपछि आरजुको प्रभाव र पहुँच काँग्रेस र सरकार दुवैतिर बढ्न थालेको देखिएको छ । प्रधानमन्त्रीलाई नदिएको सम्मान भारतले आरजुलाई दिनुले अब उनी ठूलो पार्टीको शक्तिशाली नेताको रुपमा दरिँदै छिन् भन्ने प्रस्ट भएको छ ।
संस्थापन पक्ष फुटेर छरपस्ट हुनुले पनि आरजुको दिन खुलेको रूपमा व्याख्या हुन थालेको छ । देउवापछि बालकृष्ण खाँणले अप्ठ्यारो पार्न सक्ने भएपनि उनीमाथि लागेको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाले सबै कुरा समाप्त पारिइदिइसकेको छ ।
यता संस्थापनइत्तर शेखर–गगन समूहसमेत फुटेपछि देउवालाई आफू अनुकूलको नेतालाई जिम्मेवारी सुम्पने स्थिति सहज भएको छ ।
छाटौँपटक प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका काँग्रेस सभापति देउवाको पार्टीभित्र विरोध हुँदै आएको छ । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री बनाउन नहुने प्रस्ताव गरेका छन् ।
यता, देउवाको चाहना भने ज्योतिषले भने अनुसार सात पटक प्रधानमन्त्री हुने छ । तर, देउवालाई बारम्बार प्रधानमन्त्री बन्नबाट रोक्न काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश लागिपरेका छन् । त्यसैले आफू प्रधानमन्त्री बन्न नपाए देउवाले श्रीमती आरजुलाई अगाडी बढाउन सक्ने धेरेको बुझाइ छ ।
अर्कोतर्फ ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको पहिलो प्रधानमन्त्री बनाउन चाहेको चर्चा पनि छ । ओलीले भण्डारीलाई नै पहिलो महिला प्रधानमन्त्री बनाउन खोजेको एमालेजनको अड्कलबाजी छ ।
दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी विद्या भण्डारीको चाहना पनि देशको कार्यकारी हुने छ । सक्रिय राजनीतिमा आउने उद्देश्यले नै सात वर्षपछि शीतल निवासबाट बाहिरिएकी भण्डारी एमालेको सदस्य नवीकरण समेत गरिसकेकी छन् ।
भण्डारी चाँडै सक्रिय राजनीतिमा आउने र ८४ सालको निर्वाचनपछि भण्डारी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सक्ने धेरैको बुझाइ छ । भण्डारीले पनि राज्यको नेतृत्व लिन महिला अघि सर्नुपर्ने दाबी गर्दै आएकी छन् ।
आधा आकाश ढाकेका महिलाहरूलाई अहिले राजनीति दलहरूले ३३ प्रतिशत अधिकारमा मात्रै सीमित गरेका छन् । अझै पनि नीति नियम बनाउने ठाउँमा महिलाको भूमिका सक्रिय छैन । पार्टीको निर्णायक ठाउँमा समेत महिला पुग्न सकेका छैनन् ।
निर्वाचनमा टिकट वितरण गर्दा समेत महिलालाई समानुपातिक राख्ने परिपार्टी छ । त्यसैले नेपालमा पहिलो महिला प्रधानमन्त्री को र कहिले बन्छन् यसै भन्न सक्ने अवस्था छैन ।














