Logo
Logo

ओलीले किन फ्याँके महिला प्रधानमन्त्रीको कार्ड ?


2.5k
Shares

काठमाडौं । सरकार सम्हालेको दोस्रो महिना अर्थात् भदौको पहिलो हप्ता ८ गते शनिवार प्रधानमन्त्री केपी शर्मा ओली भन्दै थिए– ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।’

आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताउँदै ओलीले यस्तो अभिव्यक्ति दिएका थिए ।

त्यही क्रममा ओलीले यो पनि दोहो¥याए–‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुष मात्रैको डेलिगेसन एकजना मात्रै बोलाएको छ भने बेग्लै कुरा नत्र पुरुष मात्रै विदेश जान अथवा कतै डेलिगेसन जान मिल्दैन, डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ, त्यो रुल अहिले मैले बनाएको छु महिलाहरूको लागि थुप्रै काम गरेको छु ।’

ओलीले यो अभिव्यक्ति दिएको दुई दिनअघि मात्रै परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणबाट फर्केका थिए । ६ गते भारत भ्रमणबाट आरजु देउवा फर्केपछि ओलीले ८ गते यस्तो अभिव्यक्ति दिएका थिए । ओलीको यो अभिव्यक्तिले नेपाली कांग्रेसमा तरंग ल्याएको छ । लामो समयदेखि आफ्नो गुट भेला गर्न नसकेका शेखर कोइरालाले आफ्नै निवासमा छलफल राखेका छन् ।

केही दिनअघि एमालेले मिसन ०८४ कायमै रहेको भन्दै अपानी जारी गरेको थियो । यही क्रममा आफ्ना आन्तरिक कमिटीलाई चलायमान बनाउन एमालेले निर्देशन दिइसकेको छ । यस्तो बेलामा ओलीले सत्ता टिकाउन महिला प्रधानमन्त्रीको तुरुप कसलाई फ्याकेका हुन भन्ने अनुमान सहज गर्न सकिन्छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते २ वर्ष एमाले अध्यक्ष ओली र त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने समझदारी भएको थियो ।

उक्त समझदारीलाई प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिँदा संसदमै ‘नोटिस’ गराएका थिए । प्रधानमन्त्री भएपछि ओलीले सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री भएको असार ३० को मितिबाट २ वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि नै राजीनामा दिने बताएर इमानदारिता प्रदर्शन गर्ने बताएका थिए ।

तर, यही क्रममा परराष्ट्र मन्त्रीका रूपमा आरजु राणा देउवा उपचार गराउन भारत भ्रमणमा पुगे । भारत भ्रमणमा गएका बेला आरजुलाई प्रधानमन्त्रीसरहको महत्त्व दिइएको थियो । प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित रहेको बेला आरजुलाई भारतले दिएको सम्मान र सत्कारलाई लिएर नेपाली राजनीतिमा विभिन्न टीकाटिप्पणी सुरु भएको छ ।

भारतबाट नेपाल फर्केपछि त्यही दिन मन्त्रिपरिषद्को बैठकमा सहभागी भएकी आरजुले आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ओली र आरजुबीच के के कुराकानी भयो त्यो विषय बाहिर नआएपनि ओलीले नै आरजुको राजनीतिक महत्वकांक्षा बढाएर कांग्रेसभित्र विवादको विजारोपन गरिदिएका छन् ।

राणालाई भारतमा गरिएको सम्मानलाई लिएर उनी फर्केसँगै पहिलो महिला प्रधानमन्त्रीका रूपमा हेरेर राजनीतिक वृत्तमा चर्चा हुन थालेको थियो । भ्रमण तालिकामा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता पूर्वनिर्धारित भए पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट तय भइसकेको थिएन ।

उनी भ्रमणमा जानुअघि नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता हुन सक्ने सम्भावना मात्रै बताइएको थियो । तर, भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री राणासँग हैदरावाद हाउसमा झण्डै ४५ मिनेट लामो भेटवार्ता गरे । राणा–मोदीको भेटवार्तालाई काठमाडौंमा चासोका साथ हेरिएको मात्र होइन अनेक प्रश्नहरु पनि उब्जिएपछि ओलीले तुरुन्तै महिला प्रधानमन्त्रीको तुरुप फालेका हुन् ।

उनी भारतबाट फर्किएलगत्तै महिला प्रधानमन्त्रीको कार्ड फालेर ओलीले बुढानीलकण्ठ (देउवा निवास)लाई आश्वस्त पार्न खोजेका छन् । कांग्रेसभित्र पार्टी र सरकार दुवैतिर आरजुको प्रभाव र पहुँच देखिन थालेपछि ओलीले आरजुलाई अघोषित रुपमा प्रधानमन्त्रीको कार्ड फ्याँकेका हुन भन्न कठिन छैन ।

यसअघि संसदीय दलको नेतामा देउवाले जित्दा रामचन्द्र पौडेल उनको पक्षमा खुलेर लागेका थिएनन् । पौडेल राष्ट्रपति बनेपछि प्रधानमन्त्रीमा आरजुको सम्भावना बढेको बताइन्छ । ओलीपछिको कार्यकाल देउवाको सट्टा आरजुलाई प्रधानमन्त्री बनाएमा कांग्रेसभित्र ठूलो विग्रह हुने र मिसन ०८४ मा एमालेलाई राजनीतिक रुपमा फाइदा हुने विश्लेषण पनि ओलीको रहेको स्रोतको दाबी छ ।

मन्त्री राणा भारत भ्रमणमा जाने बेला भ्रमण टोलीमा समावेश गरेका केही कर्मचारीको नामसमेत प्रधानमन्त्री ओलीले अन्तिममा काटेका थिए । परराष्ट्रमन्त्री राणाको भ्रमणसम्बन्धी एजेन्डामा छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीन कर्मचारीको नाम काटेका थिए ।

परराष्ट्रमन्त्री राणाले आफूसहित ६ जनाको प्रतिनिधिमण्डल प्रस्ताव गरेकी थिइन । तर, ओलीले दुईजना मात्रै जाँदा पुग्ने बताएका थिए । ‘तपाईँ स्वास्थ्योपचारका लागि जाँदै हुनुहुन्छ । विदेशमन्त्रीसँग औपचारिकताका लागि भेट होला, एकजना डिभिजन प्रमुख लैजानुस्, बाँकी दिल्लीमा रहेका कर्मचारीलाई सहभागी गराउँदा भइहाल्छ,’ ओलीले भनेको थिए ।

धेरै प्रतिनिधिमण्डल लिएर जानु मितव्ययिता र तपाईँको भ्रमणको उद्देश्यका सन्दर्भमा पनि उपयुक्त नहुने भन्दै परराष्ट्रको दक्षिण एसिया डिभिजनका दुई र मन्त्री राणाका निजी सचिवालयका एक कर्मचारीको नाम प्रधानमन्त्री ओलीले काटेका थिए ।

भ्रमणले यति ठूलो रूप लिने थाहा पाएको भए ओलीले भ्रमण टोलीमा अरू मन्त्री पनि थपिदिने थिए, यो त ओलीले पत्याएकै थिएनन्, नपत्याएको आइलागेपछि ओली पनि के कम महिला प्रधानमन्त्री बनाउने सोचिरहेको अभिव्यक्ति दिएर नेपाली राजनीतिमा तरंग उत्पन्न गरिदिएका छन् । यो तरंगको प्रतिक्रिया कांग्रेसमा कस्तो हुन्छ भन्ने कुरा ओलीले बुझ्न चाहेका छन् ।

अहिले कांग्रेसमा देउवा संसदीय दलको नेता छन् । तर, प्रधानमन्त्री बन्ने बेलामा आरजु सहजै दलको नेता चुनिने कांग्रेस नेताहरूको दाबी छ । देउवानिकट रहेर आरजु राजनीतिक पर्दाभित्रका सबै प्रक्रिया र अभ्यासको साक्षी बनेका कारण पनि सहज हुने बताइएको छ ।

ओलीले आरजुलाई प्रधानमन्त्रीको कार्ड फालेर एकातर्फ प्रधानमन्त्रीमा आफू सुरक्षित हुने र अर्कोतर्फ कांग्रसभित्र विग्रह ल्याएर मिसन ०८४ मा एमालेले बहुमत ल्याउँछ भन्ने आकलन गरेका छन् ।

यतिबेला कांग्रेसको १५औँ महाधिवेशन पनि आउन लागेको र ओलीले प्रधानमन्त्रीबाट छाडेपछि त्यसको सहज हस्तान्तरण हुने बेलामा कांग्रेसको माहौल बिगार्ने आकलन पनि गर्न थालिएको छ ।

१४औँ महाधिवेशन लगत्तैदेखि शेखर–गगन समूहमा फाटो आएको थियो । गगनले संसदीय दलको चुनावमा २५ भोट मात्र पाउनुले पनि शेखर–गगन नमिलेको संकेत पाएका ओलीले त्यहाँभित्र अझ विग्रह ल्याउने वातावरण बनाइरहेका छन् ।

देउवापछि बालकृष्ण खाँणले अप्ठ्यारो पार्न सक्ने भए पनि उनीमाथि लागेको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाले सबै कुरा समाप्त गरिदिएपछि आरजु पार्टीभित्र ‘कम्फर्ट जोन’मा पुगेकी कांग्रेसका नेताहरू बताउँछन् ।

संविधानको धारा ७६ (२) र (५) अनुसार प्रधानमन्त्री बन्न दलको नेता चुनिनै पर्ने बाध्यता नभएका कारण पनि ओलीले आरजुलाई महिला प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिदिनसक्ने कांग्रेसजनहरूको दाबी छ ।

भुटानी शरणार्थी, टिकापुर जग्गा प्रकरण विभिन्न ठेक्कामा मुछिएकी आरजुलाई प्रधानमन्त्री बनाउने आशयले ओलीको अभिव्यक्ति किन आएको हो भन्नेबारेमा एमालेजनहरू पनि आश्चर्यचकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्