काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहङ्कारपूर्ण र गलत बाटोतिर अग्रसर भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले दुई महिना भन्दा बढी समयसम्म आफूले सरकारको नियत र गन्तव्यको अवलोकन गरेको र सरकार गलत बाटोतिर अग्रसर भएको निष्कर्षमा आफू पुगेको बताएका हुन् ।

उनले भने, झन्डै पौने दुई महिना भन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु । सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर छ ।’
सरकारमा सङ्ख्याको उन्माद देखिएको भन्दै प्रचण्डले जसको फलस्वरुप शक्तिको दुरुपयोगतर्फ अग्रसर भएको पनि बताए । त्यसैले अब रचनात्मक खबरदारीका लागि ढिला गर्न नहुने ठानेर आफू हनिमुन अवधि पनि नपर्खी संसद्को रोस्टममा खडा भएको प्रचण्डले बताए ।














