Logo
Logo

सुन तस्करी प्रकरण: पक्राउ परेका अमला रोकालाई कसले बनायो बेपत्ता ?


4.2k
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० केजी सुन प्रकरणका मुख्य अभियुक्त तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङका पत्नी भनिएका अमला रोका हालसम्म बेपत्ता छन् । 

उनका श्रीमान् भनिएका दावा छिरिङ सुन प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परे लगत्तै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरे पनि राजनीतिक मिलेमतोमा छोडेपछि त्यसयता उनको अवस्था अज्ञात रहेको छ। 

प्रहरीको खोजी सूचीमा रहेका उनलाई केही समय अघि प्रहरीले पक्राउ गरेर राजनीतिक दबाब र प्रहरीका उच्च अधिकृतहरूको मिलेमतोमा छाडिएको थियो । 

स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा नेताहरूको तीव्र दबाबपछि उनलाई छाडेर भगाइएको हो । 

दावा छिरिङको पक्राउअघि राजस्व अनुसन्धान विभागमा कार्यरत नेपाल प्रहरीका एसपी कृष्ण पंगेनीले अमला रोकासँग कुराकानी गरेको र त्यसलगत्तै पक्राउ गरेर उनलाई भारत भगाइएको स्रोतले बतायो। 

उनलाई पक्राउ गरेर कानुनी प्रक्रियामा लैजाँदा थप माओवादी नेताहरूसँगको सम्पर्क सञ्जाल सार्वजनिक हुने भएकाले पनि पक्राउ लगत्तै भगाइएको हो ।

उनलाई छोड्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राजस्व अनुसन्धान विभागको प्रमुख नवराज ढुंगाना र एसपी पंगेनीको मिलेमतो रहेको स्रोतको दाबी छ ।

यसमै अर्को रहस्यमय कुरा के छ भने सु्न तस्करी सम्बन्धी जाँचबुझ आयोगबाट  समेत उनलाई उन्मुक्ति दिएको छ । रोकाका श्रीमान् भनिएका दावा छिरिङको संलग्नता रहेको आरोप लागेको ६० केजी सुन विमानस्थलबाट पक्राउ  प्रकरण पछि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग गठन गरिएको थियो ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा फरार रहेका रोकाको संलग्नताबारे कहीँ कतै उल्लेख गरिएको छैन ।

यी सबै योजनाबद्ध रुपमा भएको र त्यस यता उनी कुनै पनि सम्पर्कमा नरहेकाले उनको अवस्था हालसम्मै अज्ञात रहेको स्रोत बताउँछ। 

माओवादीका नेताहरू वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसँग बलियो सम्बन्ध रहेको भनिएका रोका रोल्पा थवाङ गाउँपालिका निवासी हुन् । 

उनको ती माओवादीका नेताहरूसँग पारिवारिक सम्बन्ध रहेको जनाउने विभिन्न आशंकाजन्य तस्बिरहरू सार्वजनिक भए पछि माओवादी नेता वर्षमान पुनले सहिद परिवारको सदस्यका रुपमा भेट भएको र अन्य सम्बन्ध नरहेको बताएका थिए । 

पुनले सहिद परिवारको हवाला दिए पनि रोकाका श्रीमानको रोल्पामा युवाहरूको आपसी भिडन्त हुँदा त्यसमा परेर निधन भएको हो । रोका कुनै सहिद परिवारको सदस्य नभएको सार्वजनिक भइसकेको छ ।

यद्यपि रोका र दावासँग पारिवारिक सम्बन्ध दर्साउने तस्बिर सार्वजनिक भएपछि नेता पुनले भने सहिद परिवारको सदस्य भएको दाबी गर्दै आफ्नो बचाउमा उत्रिएका थिए ।

यही पेरिफेरिमा प्रहरीले उनलाई पक्राउ गरे पनि राजनीतिक दबाबले भगाए पछि उनको अवैध व्यावसायिक सम्बन्ध माओवादी नेताहरूसँग रहेको आशंकालाई थप बल पुर्याउँदै घटना थप शंकास्पद बनेको थियो ।

उनलाई अनुसन्धानका क्रममा केरकार गरेपछि ती माओवादी नेताहरूको संलग्नता खुुल्ने भयले पनि उनीहरूले आफू जोगिन गिरफ्तारी पछि रोकालाई भगाइएको हुनसक्ने जानकार स्रोत दाबी गर्दछ ।

तत्कालीन सरकारको प्रहरीसँगको मिलेमतोमा भगाइए पछि अहिले उनै रोकाको अवस्था अज्ञात रहेको भन्दै पुनः पक्राउ गर्न प्रहरी असमर्थ बनेको छ । उनको अज्ञात अवस्था पछि रोकालाई फरार गराईको यस घटना थप रहस्यमय बनेको छ ।

माओवादी नेताहरू वर्षमान पुनको परिवार र अर्का पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसँग पाविारिक सम्बन्धमा रहेकी रोकाको अवस्था अज्ञात हुनु निकै रहस्यमय भएको स्रोत बताउँछ ।  

स्रोतका अनुसार रोकाले पहिलो विवाह गरेका श्रीमानको निधन भएपछि एकल जीवन बिताएकी उनको सुन तस्करीका अभियुक्त दावा छिरिङसँग माओवादी नेताहरुकै पहलमा बैबाहिक सम्बन्ध भएको हो ।

यस अघि माओवादी निकट रोल्पा काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष रहेकी उनको दोस्रो विवाह समेत रोल्पाकै माओवादी नेताहरू वर्षमान पन र पूर्वउपराष्ट्रपतिका पुत्र दिपेश पुनको रोहवरमा भएको बताइन्छ । 

यस विषयमा रोकाको परिवार निकट स्रोतसँग सम्पर्क गर्दा पनि उनको अवस्था अज्ञातै रहेको बताउँछन् । उनीहरूले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । रोकाको कुनै पनि अवस्थाको जानकारी नपाएको र उनको अवस्था जीवितै छ या छैन भन्ने समेत यकिन नभएको भन्दै संशय प्रकट गर्ने गर्दछन् ।

माओवादीका प्रभावशाली नेताहरूसँग नाम जोडिएको र यस अघि पक्राउ गरेर योजनाबद्धरुपमा फरार गराइएकाले स्थिति थप गम्भीर हुनसक्ने भयले त्रासदीपूर्ण अवस्थामा परिवारजन रहेको छ । उनको अवस्था जे पनि हुन सक्ने पारिवारिक स्रोतले आशंका व्यक्त गर्ने गरेको छ ।  

उनको पक्राउ पछि आफूहरूको पोल खोलिने सम्भावित अवस्थाको आकलन गर्दै माओवादी नेताहरूले आफ्नो सरकार रहेकै बेलामा उनलाई भगाइएको जानकार स्रोतको दाबी छ । 

तिब्बती मूलका दावा छिरिङको सम्बन्ध पहिल्यैदेखि माओवादी नेताहरूसँग भएको र उनीहरूकै रोहवरमा बिहे समेत गराइएकाले यो सबै तिनै माओवादी नेताहरूबाट भएको आशंकाले रोकाको परिवार थप त्रसित छ । 

उनको गिरफ्तारी भएको भए कम्तीमा जिउज्यान सुरक्षित हुन सक्ने तर भगाइएपछि उनको अवस्थाबारे केही जानकारी पाउन नसकेको रोकाको परिवारको गुनासो छ ।

नेताहरूले आफैँ विवाह गराइदिएर अवैध कारोबारमा संलग्न गराएको र अहिले दावा पक्राउ पछि त्यसको बलियो प्रमाण रोकाबाटै उजागर हुने भयले माओवादी नेताहरूबाटै भगाइएको पारिवारिक स्रोतको दाबी छ । 

आफू जोगिन उनको अवस्था जे पनि गराउन सक्ने भन्दै पारिवारिक स्रोतले चिन्ता प्रकट गर्‍यो ।  ती माओवादी नेताहरूको बलियो प्रमाणका रुपमा रहेकी अमलाको लापत्ता घटनालाई रफादफा बनाउने डिजाइनिङ अन्तर्गत भएको हुनसक्ने भन्दै रोकाको अज्ञात स्थितिले परिवारजनमा आशंका निम्ताएको छ ।

प्रतिक्रिया दिनुहोस्