काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित युट्युब च्यानल ‘हेर्ने कथा’ बाट चर्चामा रहेका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन पहल गरेका छन् ।
तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । यसबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका छन् । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ ।
प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको बताएका छन् । नागरिकता भएमात्रै बैंक खाता खोल्न सकिने र आवश्यक सहयोग गर्न चाहानेहरुले सहयोग गर्न मिल्ने उनको भनाई छ ।