Logo
Logo

नेकपा एसको केन्द्रीय पदाधिकारीमा को को चुनिए ?

उपमहासचिवमा मेटमणिले लोकप्रिय मत पाउँदा उपाध्यक्षमा रामकुमारी पराजित


819
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पूर्णता पाएको छ । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य चयन गरेपछि सहमतिबाट पदाधिकारी चयन गर्ने भनिएपनि सहमति जुट्न नसकेपछि मंगलबार पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन गरिएको थियो । पदाधिकारी निर्वाचनको परिणाम आइसकेको छ ।

एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट माधवकुमार नेपाललाई अध्यक्ष, घनश्याम भुसाललाई महासचिव र झलनाथ खनाललाई सम्मानीत नेतामा पुनः दोहो-याएर घोषणा भएको थियो । उक्त समयमा बाँकी केन्द्रीय सदस्य १० दिनभित्रै टुंग्याउने घोषणा भएपनि लामोसम्म केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको थिएन ।

मंगलबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन् । सुरुमा मनोनयन दर्ता गरेपनि घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । निर्वाचनबाट महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । राईले १८९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वि रामकुमारी झाँक्रीले ११२ मत ल्याएर पराजित भइन् ।

यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । उपाध्यक्षमा तुलाधरले सबैभन्दा धेरै १८९ मत पाए । महिला र मधेशी समुदायको उपाध्यक्षमा २/२ जना र ४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । उपमहासचिवमा चौधरीले प्रतिस्पर्धीमध्ये सबैभन्दा धेरै १५८ मत प्राप्त गरेका छन् ।

सचिवमा गणेशबहादुर विश्वकर्मा (दलित), बलदेव चौधरी (आदिबासी जनजाति), श्रीनाथ बराल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, सावित्राकुमारी भुसाल र चन्द्रबहादुर शाही निर्वाचित भएका छन्। दलित सचिवमा र आदिबासी जनजाति सचिवमा ३ ÷३ जना र खुल्ला सचिवमा २६ जनाको उम्मेदवारी परेको थियो ।

खुल्ला सचिवमा सबैभन्दा धेरै कुँवरले १५३ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारी सचिव पदमा पराजित भएका छन् । उनले ५३ मत मात्रै पाएका छन् । निर्वाचनको परिणाम आएपनि औपचारिक घोषणा भने गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्