
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ लेखर्कमा यही भदौ ९ गते बिहान गएको पहिरोमा परेर बेपत्ता एक युवतीको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएका तीन जनामध्ये बुधबार बिहान २३ वर्षीया बिन्दा पहरीको शव फेला परेको हो ।
नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा बिन्दाको शव पहिरोले पुरेको अवस्थामा भेटिएको हो । योसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
यसअघि पहिरोमा परेर मृत्यु भएको अवस्थामा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव सोही दिन भेटिएको थियो ।
सोमबार ७५ वर्षीय पुड्की पहरीको शव फेला परेको थियो । पहिरोमा अझै दुई जना काले पहरी र झ्याउँकुरी पहरी बेपत्ता छन् ।














