मलेखु । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो ।
स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सुक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भैराखेको बताए ।
विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ । रेडियोग्राफर टेक्नोलोजिष्टद्वारा स्तनको चित्र लिन सकिने अस्पतालका निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले बताए ।
सेवा सुरु भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छभने डाक्टरले मेमोग्राम गर्न सुझाव दिने गर्दछन् । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।