काठमाडौं । भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२४’ जारी छ । मंगलबारदेखि जारी ‘नाडा अटो शो’मा बीवाइडीले ग्राहकको ध्यान आकर्षित गरेको छ ।
चिनियाँ कम्पनी बीवाइडी विद्युतीय कार उत्पादन तथा बिक्री गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । नाडा अटो शोमा कम्पनीले ‘बीवाइडी एटो थ्री’ एडभन्स भर्सन अर्थात २०२४ भर्सन र सुपेरियर भेरियन्ट तथा बीवाइडी डल्फिन प्रदर्शनीमा राखेको छ ।
नेपालका लागि बीवाइडीेको आधिकारिक वितरक साइमेक्स इन्कले बिवाइडी गाडी बुकिङ गर्दा एक वर्षको इन्सुरेन्स र २.३ किलोवाटको ब्याट्री निःशुल्क उपलब्ध गराउँदै आएको छ । बीवाइडीप्रति आकर्षित ग्राहक यो अफरले अझ हौसिएका छन् ।
नाडा अटो शोमा बीवाइडीको एटो थ्री २०२४ भर्सन र डल्फिन धमाधम बुकिङ भइरहेको साइमेक्स इन्कले जनाएको छ । नाडा अटो शोको दोसो दिन बुधबार मध्यान्हसम्ममा एक सयभन्दा माथि गाडी बुकिङ भइसकेको साइमेक्स इन्कका प्रमख बजार अधिकृत समीर श्रेष्ठले जानकारी दिए ।
‘आज नाडा अटो शोको दोस्रो दिन हो, अहिलेसम्म एक सय माथि बुकिङ भइसकेको छ’ उनले भने, ‘बीवाइडीको एटो थ्री २०२४ भर्सनसँगै डल्फिन पनि बुकिङ भइरहेको छ ।’ डल्फिनप्रति पनि ग्राहक आकर्षित रहेको उनले बताए ।
नाडा अटो शो अवधिभरमा करिब ६ सय गाडी बुकिङ हुने अपेक्षा साइमेक्स इन्कले गरेको छ । दृष्टिन्यजसँग समीरले भने, ‘यति नै बुकिङ होला भनेर ठ्याक्कै भन्न सकिँदैन । तर, अहिले जसरी ग्राहकको चासो र बुकिङ भइरहेको छ, त्यसलाई आधार मान्ने हो भने ६ सयको हाराहारीमा बुकिङ हुने अनुमान गर्न सकिन्छ ।’
बीवाइडी एटो थ्री २०२४ भर्सनमा धेरै विशेषताहरु थप गरिएको उनले बताए । बीवाइडी एटो थ्रीको २०२४ भर्सनमा नयाँ फिचर एप थपिएको भन्दै उनले त्यो एप डल्फिनमा पनि दिइएको बताए । उनले भने, ‘त्यो फिचर एप अहिलेसम्म बजारमा कुनै पनि गाडीले चलाएको छैन । उक्त एपले सवारी चालकले गाडी चलाइरहँदाको अनुभवलाई सहज तरिकारले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । त्यसैले पनि बीवाइडीप्रति धेरैको रुची बढेको छ ।’
उनले दशैंसम्ममा बीवाइडीको चार्जर स्टेशन ५० ठाउँमा पुग्ने समेत बताए । अहिले ३५ वटा चार्जर स्टेशन रहेको बताउँदै उनले दशैंसम्ममा १५ स्थानमा स्टेशन थपिने बताए । त्यसको साथै सर्भिस सेन्टरहरुलाई पनि व्यवस्थित गरिएको छ । हालसम्म बीवाइडीको देशभर १४ स्थानमा शोरुम रहेको छ । ती सबै शोरुममा सर्भिस सेन्टर रहेको उनले बताए ।
सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको छ । एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । बीवाईडी एटो–३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्सडमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एटो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।