Logo
Logo

रोल्पामा चार जनामा हैजा संक्रमण


252
Shares

काठमाडौं । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ ।

लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलका निर्देशक राजेशकुमार गुप्ताका अनुसार एउटै वडाका चार जनामा हैजा पुष्टि भएको हो ।

संक्रमित हुनेमा ८०, २६ र १८ वर्षका तीन महिला र ८ वर्षका बालक छन् । यो सँगै यस वर्ष हैजाबाट संक्रमित हुनेको संख्या ७१ पुगेको छ ।

ललितपुरमा ४७ काठमाडौंमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एकमा जनामा यसअघि नै संक्रमण पुष्टि भएको थियो ।

हैजा पुष्टि भएका अधिकांश निको भइसकेका छन् । चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ ।

सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् ।

गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने चिकित्सक बताउँछन् ।

हैजाको संक्रमणबाट सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खाने बानी बसालेमा बच्न सकिने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्