काठमाडौं । नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँचजना प्रहरी कर्मचारीकाे रिटको आज सुनुवाइ हुने भएको छ । उमेरहदका कारण अवकाशमा जान लागेका पाँचजना प्रहरीले अवकाश कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश शारंगा सुवेदीको इजलासमा सुनुवाइ हुने भएको हो ।

एआइजी ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गराएका थिए । उमेरहदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लागेका छन् । प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख छ ।
३० वर्षे सेवा अवधिकै कारणले प्रहरी अधिकारीहरू अवकाशमा जान लागेको भन्दै नेपाल प्रहरीका २१ जना प्रहरी कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भदौ ६ गते उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले तत्काललाई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेका थिए ।














