काठमाडौं । आम जनता पार्टी (आजपा)ले आन्दोलन केन्द्रित नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । दुई दिनसम्म काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा चलेको बैठकले सातै प्रदेशमा आउँदो ३ असोजमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय समेत गरेको छ ।

लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासन सत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उद्घोषण गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सोही अनुसार नेताहरूको जिम्मेवारी समेत तोकेका छन् ।
मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढ्दै गइरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरूको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको विकल्प नभएको निष्कर्ष बैठकले निकालेको छ ।
आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरूसँग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरूलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरूको सम्पत्ति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गरी सफलताको दिशामा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
‘बैठकले सातै प्रदेशमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरूसँग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरूलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरूको सम्पत्ति राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गरी सफलताको दिशामा अगाडि बढाउने निर्णय गरिएको छ’ बैठकपछि आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘दलाल दलतन्त्रको भण्डाफोर गरौं, जनआन्दोलनको दिशामा अघि बढौँ’ भन्ने मूल नाराका साथ दुई दिनसम्म चलेको बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी, सदस्यहरूले गम्भीर रूपमा छलफल गरेका थिए ।
आन्दोलनको आवश्यकता, महत्त्व, रणनीति सहित समसामयिक राजनीतिकको बारेमा अध्यक्ष प्रभु साहले पेस गरेको राजनीतिक प्रतिवेदनमा चर्काचर्की बहस भएको थियो । केन्द्रीय सदस्यहरूले राखेको सुझाव समेट्ने गरी साहको १८ पृष्ट लामो प्रतिवेदन परिमार्जन सहित पारित भएको थियो ।
पार्टीले तय गरेको आगामी आन्दोलनलाई थप बलियो, व्यवस्थित बनाउनका लागि बैठकले विभिन्न प्रदेशको इन्चार्ज र अध्यक्षको जिम्मेवारी समेत तोको छ । प्रवक्ता साहका अनुसार कोशी प्रदेशको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा जुरीलाल मोचीलाई जिम्मेवारी दिइएको छ ।
मधेस प्रदेशमा इन्चार्ज उपेन्द्र साह र अध्यक्ष उमेश कुशवाहा, बागमतीमा इन्चार्ज ज्ञानेन्द्र तामाङ र अध्यक्षमा रमेश थपलिया, गण्डकी प्रदेशमा इन्चार्ज तिलक थापामगर र अध्यक्षमा भोजराज त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ ।
यसैगरी लुम्बिनी प्रदेशमा इन्चार्ज त्रिभुवन साह र अध्यक्षमा नारायण पाण्डेय, कर्णाली प्रदेशमा इन्चार्ज तिलक थापा र अध्यक्षमा सागर पाण्डेय, सुदूरपश्चिम प्रदेशमा इन्चार्ज समिना हुसैन र अध्यक्षमा भीम बुढा क्षेत्री र काठमाडौं उपत्यका विशेष कमिटीको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा देवी पण्डितलाई जिम्मेवारी तोकिएको छ ।
यसैगरी पार्टीको विभिन्न महत्त्वपूर्ण विभागमा समेत जिम्मेवारी तोकिएको छ । विदेश विभागको इन्चार्जमा त्रिभुवन साह र अध्यक्षमा साजन जयसवाल, स्कुल विभागको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा उदयचन्द्र प्रसाद, प्रचार प्रसार तथा प्रकाशन विभागको इन्चार्जमा चन्द्रभुषण साह र अध्यक्षमा मोहनजंग कार्की, महिला विभागको इन्चार्जमा कान्तिदेवी महतो र अध्यक्षमा सिमल साह, लेखा तथा अर्थ विभागको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा रञ्जु साहलाई जिम्मेवारी बैठकले तोकेको छ ।
‘बैठकबाट पार्टी केन्द्रीय समितिलाई पुनर्गठन गरिएको छ । साथै, प्रदेश लगायतका अन्य कमिटीहरूलाई पनि पुनर्गठन गर्ने, कमिटी गठन नभएका ठाउँहरूमा कमिटी गठन गर्ने तथा जबसहरुको पुनर्गठन र राष्ट्रिय भेला एवं सम्मेलनहरूको आयोजनामार्फत हाम्रा घोषित संघर्ष एवं आन्दोलनका कार्यक्रमहरूको सफलताको आधारलाई थप सृदृढ़÷मजबुत गर्ने निर्णय गरिएको छ’ आजपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी बैठकले विश्वस्तमा फैलिएको आम नेपाली जनतालाई एकताबद्ध गर्न तथा पार्टीको संगठन सञ्जाललाई थप प्रभावकारी एवं विस्तार गर्न प्रवासको जिम्मेवारी समेत नेताहरूलाई तोकिएको छ ।
भारतको इन्चार्जमा विजय यादव, अध्यक्षमा केवी रावत, मलेसियाको इन्चार्जमा उमेश कुशवाहा र अध्यक्षमा जितेन्द्र यादव, खाडीमुलुकको इन्चार्जमा लालबाबु मंसुर र अध्यक्षमा जागेश्वर क्षेत्री, अष्ट्रेलियाको इन्चार्जमा तिलक थापा र अध्यक्षमा ध्रुव गौतम, अमेरिकाको इन्चार्जमा ज्ञानेन्द्र तामाङ र अध्यक्षमा सुलभ कार्कीलाई जिम्मेवारी तोकिएको छ ।














