Logo
Logo

हिंसा शब्द ख्याल गरेर बोलौँ : देवेन्द्र पौडेल


567
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद नेता देवेन्द्र पौडेलले नेपाल विद्युत् प्राधिकरणलाई विभिन्न उद्योगले तिर्नुपर्ने बक्यौतामध्ये एक सय ७८ वटाले बुझाइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनले अब ६१ उद्योगले मात्र तिर्न बाँकी रहेको जानकारी बताएका हुन् । उनले भने, ‘आजभन्दा आठ वर्षअघि हिउँदमा १८ र बर्सातमा नौ घण्टा विद्युत् कटौती हुने गरेकामा अहिले दैनिक रु १३ करोड ११ लाखको विद्युत् निर्यात गरी ‘लोडसेडिङ’ अन्त्य गरेको छ । सरकारको ध्यान अलपत्र र अस्तव्यस्त रहेका नेपाल वायु सेवा निगमलगायत संस्थातिर जाओस्, धेरै यात्रु जहाज उडाइको पखाईमा छन् ।’

विभिन्न विश्वविद्यालय, रेडियो नेपाल र आयल निगम सुधार्न सरकारलाई सुझाव दिँदै सांसद पौडेलले राम्रो ढङ्गले सञ्चालन भइरहेको प्राधिरणको व्यवस्थापनमाथि अनावश्यक टीकाटिप्पणी नगर्न चेतावनी दिए । राजनीतिक परिवर्तनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा सहादत प्राप्त नागरिकलाई सबैले सहिदका रुपमा सम्मान गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै उनले १० वर्षे माओवादी जनयुद्ध अन्त्यका लागि भएका सम्झौता, अन्तरिम संविधानमा हिंसा भन्ने शब्द उल्लेख नभए पनि जिम्मेवार राजनीतिक दलका नेताहरुबाट त्यस्तो अभिव्यक्ति आउनु ठीक नभएको बताए ।

उनले भने, ‘हामीले लखन थापालाई सहिद मानेका छौँ । न्यायका निम्ति लडेका दिलबहादुर रम्तेल, कृष्णसेन इच्छुकको यो व्यवस्था ल्याउन भएको बलिदानी निकै ठूलो छ, यी जनताका छोराछोरी हुन् कि होइन, हिंसा शब्द ख्याल गरेर बोलौँ ।’

विगतका जनयुद्ध, जनआन्दोलनलगायत सबै आन्दोलनप्रति आफ्नो उत्तिकै सम्मान र सलाम रहेको बताउँदै सांसद पौडेलले ती आन्दोलन र सहादतको उपलब्धिका रुपमा अहिलेको सदन बनेको स्पष्ट गरे । गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा गिरफ्तार भएका युवाले कसैप्रति हातपात नगरेकाले उनीहरुलाई विनासर्त रिहाइ गर्न र मुद्दा नचलाउन सुझाव दिँदै उनले जनताले बलिदानी गरेर ल्याएको व्यवस्था उनीहरुले प्रयोग गर्न पाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्