Logo
Logo

देउवालाई किनारा लगाउने गगन-विश्वप्रकाशको प्रयास, देउवाको नयाँ चाल 


3.5k
Shares

काठमाडौं । कांग्रेसभित्रको आन्तरिक राजनीति बिथोलिएको छ । महामन्त्रीद्वयले ल्याएको प्रस्तावको विपक्षमा संस्थापन पक्ष दह्रो उभिएपछि प्रस्तावमा हेरफेरको तयारीमा जुटेका सभापति शेरबहादुर देउवाले सहमति जुटाउन नसक्दा पार्टीभित्रको टसल थप चुलिएको छ । 

चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव र राजकीय पदमा समय सीमा तोक्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावमा कांग्रेस संस्थापन पक्ष आक्रामक देखिएको छ । केन्द्रीय समितिको बैठक रोकेर देउवाले महामन्त्री र उपसभापतिसँग छलफल गरिरहेका छन् ।

सभापति देउवा र उपसभापति तथा महामन्त्रीबीचको छलफल बिहीबार पनि बिनानिष्कर्ष टुङ्गिएको छ । महासमिति बैठकबाट पारित महामन्त्रीद्वय गगन र विश्वप्रकाशका प्रस्तावमा सहमति नजुटेपछि देउवाले छलफल गरेका हुन् । आउँदो शनिवार बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको छ । 

यही भदौ १२ गतेका निम्ति डाकिएको केन्द्रीय समिति बैठकको मिति देउवाले सारिसकेका छन् । उक्त बैठक भदौ १६ गतेका लागि तय छ । बैठकअघि सहमति जुटाइसक्ने देउवाको तयारी छ ।

महामन्त्रीद्वयले ल्याएको प्रस्ताव व्यक्ति लक्षित रहेको अस्वाभाविक भएको संस्थापन पक्षको बुझाई छ । तर, महामन्त्रीद्वय नै आफ्नो अडानबाट टसमस हुन नखोज्दा देउवाले नयाँ रणनीति अख्तियार गर्ने मुड बनाएका छन् । 

पार्टीमा सानदार बहुमतमा रहेका देउवा आफूविरुद्ध उपयोग हुने किसिमका प्रस्ताव सहजै पारित गर्न राजी हुने सम्भावना छैन । अझ, महामन्त्रीद्वयले चुनावी गठबन्धनमा गरेको एकस्वले समेत देउवा थप झोक्किएका छन् । 

महामन्त्रीद्वयको प्रस्तावमा सहमत हुन नसक्दा केन्द्रीय समिति बैठक समेत सर्दै सर्दै गइरहेको छ । गगनले चुनावी गठबन्धन नगर्नमा जोड दरिरहेका छन् भने विश्वप्रकाश एक्जिट पोलेसीमा केन्द्रित छन् । जुन कुरा अहिलेको अवस्थामा पार्टीका लागि घातक हुने कांग्रेसका शीर्ष नेताहरू नै बताउने गरेका छन् । 

अर्को पार्टी महाधिवेशनको मिति अहिले नै तय गर्नुपर्ने प्रस्तावले देउवा थप आक्रामक बन्न पुगेका छन् । विभिन्न कारणहरू देखाउँदै ४ ÷४ वर्षमा गर्नु पर्ने पार्टी महाधिवेशन सभापतिले डेढ वर्षसम्म सार्न सक्छन् । 

पार्टी विधानले दिएको यो सुविधा प्रयोग गर्ने  मुडमा देउवा छन् भने इतर पक्ष ४ वर्षे कार्यकाल सकिने बित्तिकै महाधिवेशन मिति तोक्नुपर्ने अडानमा छ ।

यसले पनि कांग्रेसभित्रको टसल थप उत्कर्षमा पुगेको छ । देउवालाई गलाउन नसकेका महामन्त्रीद्वयले भाषामा केही लचकता अपनाउन सहमति जनाएपनि महाधिवेशनको मिति तोक्ने, राजकीय पदको समयसीमा राख्ने र चुनावी गठबन्धनबारे प्रस्ट हुनुपर्ने अडानमा छन् । तर, देउवा चुनावी गठबन्धन रणनीतिको कुरा भएको र कार्यनीतिको विषय नभएकाले अहिले नै भन्न आवश्यक नरहेको तर्क गरिरहेका छन् । 

एक्जिट पोलिसी र महाधिवेशनको मितिमा भने देउवा कठोर नै सुनिने गरेको बताइन्छ । कानुनले तोकेको समयभित्रै महाधिवेशन गर्ने र एक्जिट पोलिसीको विषयमा समयसीमा नहुनेमा देउवा प्रस्ट छन् । जुन एजेण्डामा महामन्त्रीद्वय अझ कडा रुपमा पेश हुन चाहन्छन् ।

महामन्त्रीद्वयको प्रस्तावमा देउवाले सहमति जुटाउने सम्भावना कम देखिन्छ । पार्टीमा बहुमत भएकाले मतदान गरेर भएपनि देउवा आफ्नो निर्णय लागू गराउने पक्षमा छन् । 

यस्तोमा चुनावी अंकगणितलाई स्वीकार गर्दिन भन्ने नैतिक आधार नहुने भएकाले पनि देउवाको जोड त्यता जान लागेपछि महामन्त्रीद्वय गगन र विश्वप्रकाश अलपत्र पर्ने विश्लेषण कांग्रेस वृत्तमा हुने गरेको छ ।

सकेसम्म सहमति जुटाएर अघि बढ्न खोजेका देउवाले केही समय पर्खिने र महामन्त्रीद्वय सहमत नभएपछि निर्वाचन गराएरै भएपनि आफू अनुकूल निर्णय गराउने पक्षमा देखिएपछि कांग्रेसको आन्तरिक राजनीति समेत चलायमान बन्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्