Logo
Logo

प्रदेश नं २ : १०३ जना कोरोना संक्रमित


- दृष्टि न्युज/संवाददाता


जनकपुरधाम, ३ जेठ । प्रदेश नं २ मा कोरोना संक्रमितको संख््या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना संक्रमितको संख्या ९९ थियो । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ संक्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना संक्रमितको संख्या १०३ पुगेको हो ।
थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन् । धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको संक्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो । जनकपुरको रमानन्दचोकमा घर भएपनि तत्काल उनी काठमाडौँमा छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना संकनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ । दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट टे«सिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब संकलन शुक्रबार भइसकेको र ३६० जनाको स्वाब संकलनकार्य जारी छ ।

यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब संकलन गरिएको छ । रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब संकलन भइरहेको प्रदेश सचिव डा घिमिरेले बताए ।
यस प्रदेशमा कोरोनाबाट संक्रमित ९६ जनाको उपचार भइरहेको छ । सोमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक संक्रमितको उपचार भइरहेको छ ।
यस प्रदेशमा अहिलेसम्ममा चार हजार ९८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार ८१७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१७ को आरडिटी परीक्षण गरिएको छ । प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा एक हजार ९१५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६८८ र आइसोलेसनमा १०८ जना बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्