Logo
Logo

आइतबारसम्म भीषण वर्षाको सम्भावना, जोखिममा ५६ जिल्ला


630
Shares

काठमाडौं । चार दिनसम्म मनसुन सक्रिय रहने भएको छ । मौसमविद्हरूले बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना औंल्याएका छन् । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने जनाएको छ ।

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो । यो क्रम असोज १३ गते आइतबारसम्मै रहने महाशाखाले जनाएको छ ।

महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।’

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

महाशाखाले असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेसका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन् । गण्डकीको मनाङ मध्यम जोखिममा छ ।

त्यस्तै लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन् । १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्