काठमाडौं । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागको औपचारिक निमन्त्रणमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार (असोज १०) काठमाडौं फर्किएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि गत शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।
उनीहरू औपचारिक कार्यक्रम सकेर आगामी असोज १४ गते मात्रै नेपाल फर्कने कार्यक्रम तय भएको थियो । तर, रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने तयारी भएपछि उनीहरु भ्रमण छोट्याएर नेपाल फर्किएका हुन् ।